
तुलसीपुर, मंसिर १७ । नेकपा एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हिम्मत भए आफ्नो निर्वाचन क्षेत्रबाट चुनाब लडेर देखाउन चुनौति दिएका छन् ।
शुक्रवार तुलसीपुरमा आयोजित जिल्लाका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै दाङ निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेबाटै निर्वाचित संघीय सांसद समेत रहेका चौधरीले हिम्मत भए आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लडेर देखाउन चेतावनी दिएका हुन ।
‘शंकर पोखरेलजी तपाँई सांच्चै दाङबाट चुनाव लडेर देखाउन चाहनुहुन्छ भने निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लडेर देखाउनुहोस, मैले तपाँईलाई चुनाव खर्च स्वरुप १५ लाख रुपंैया आर्थिक सहयोग गर्ने छु,’ चौधरीले अगाडि भने ।
कार्यक्रमका प्रमख अतिथि तथा पार्टीका उपमहासचिव डा. विजय पौडेलले नेकपा एमालेमा देखिएको ओलीवाद कम्युनिष्ट आन्दोलन प्रतिको धोखा भएको बताए ।
उनले दुई तिहाई मत दिएर जनताले सरकारमा पठाएका ओलीले पार्टीमा दलाली पूँजीवाद र गुण्डाहरु भित्याएको आरोप लगाए । जनताको दुई तिहाइको सरकारले समाजवाद तर्फ उन्मुख बजेट ल्याउने आशा गरेपनि दुई दुई पटक त्यो नल्याउनुले त्यही कुरोको पुष्टि गरेको पौडेलको भनाई थियो ।
‘तत्कालिन गणतन्त्रका विरोधी ओलीलाई सत्ताको चाँवी र पार्टीको नेतृत्व दिदा अहिले यो अवस्था आएको हो,’ उनले भने ‘हामीले पार्टीमा पहिले धेरै उदारत्ता देखाएका कारणले आज यो अवस्था भोग्नु परेको हो ।’
गणतन्त्र विरोधी, तुलसी गिरीको पालामा सरकारमा जान खोजेका ओलीको उहिले नै सदस्यता खारेज गरेको भए यो अवस्था नआउने उपमहासचिव पौडेललेको भनाई थियो ।
ओलीको सरकारको पालामा भष्ट्राचार ब्याप्त बनेको तथा धेरै व्यथिति भित्याएको हुँदा अव जनता माझ सो कुरा लिएर भण्डारफोर गरिने उनले बताए । ओलीले समाजवादको सपना तुहाई दिएको हुँदा आफ्नो पार्टीले सो सपना पुरा गर्ने जिकिर गरे ।
पार्टीका जिल्ला अध्यक्ष सुरामणि वेलवासेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सचिव भागवत विश्वासीले पार्टी स्थापनाको छोटो समयमै जनतामाझ स्थापित भैसकेको दावी गर्दै आसन्न निर्वाचनमा एमाले भन्दा ठूलो पार्टी बन्ने बताए ।
उनले समाजवादी पार्टिको संगठन बलियो भएको देखेर नेकपा एमाले अत्तालिएको दाबी गरे ।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नंवर ३ मा नेकपा एमालेबाट निर्वाचित संघीय सांसद हिराचन्द्र केसीले एमालेमा ओलीको एकलौटी अधिनायकवादको विद्रोह स्वरुप नेकपा एकिकृत समाजवादी पार्टीको जन्म भएको बताए ।
कार्यक्रममा अवसरमा पूर्व सांसदहरु नेतृ अनारकली मिया, नेताहरु जोगवहादुर राना, वामदेव शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
एकिकृत समाजवादी दाङका उपाध्यक्ष चुर्णवहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यकर्ता भेलाको सहजिकरण जिल्ला पार्टी सचिव मीना गुरुङले गरेकी थिइन । सो अवसरमा नेकपा एमाले र अन्य दल परित्याग गरेर १५७ जनाले नेकपा समाजवादी पार्टीमा पार्टी प्रवेश गरेको जिल्ला संगठन विभाग प्रमुख डिल्लीबहादुर डाँगीले जानकारी दिए ।
