२०८० फाल्गुन २० गते आइतवार

उपचारका क्रममा ११ दिनकी सुत्केरीको मृत्यु


हुम्ला,पुस २४ । सुत्केरी भएको दश दिन पछि २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको छ।

हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ५ की २२ वर्षीया अंशु बुढाको कडा खाले निमोनियाको उपचारका क्रममा बाजुरा जिल्लाको कोल्टीमा रहेका प्राथमिक उपचार केन्द्रमा सोमवार राति मृत्यु भएको हो ।

ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले सुत्केरी भएको एघारौँ दिनमा बुढाको उपचारका क्रममा मृत्यु भएको बताए ।

उनले सुत्केरी बुढाको कडा खाले निमोनियाको कारण मृत्यु भएको बताए ।

उनले गत पुस १२ गते गर्भवती बुढालाई सामान्य रुपमा मदाना स्वास्थ्य चौकीको प्रसुती गृहमा सुत्करी गराएर आमा र शिशुलाई घर पठाइएको जानकारी दिए ।

पहिलो सुत्केरी भएको कारण चिल्लो, पिरो, चिसो, धुँवा धुलोको घरपरिवारका सदस्यहरुले वास्ता नगरेको कारण बुढालाई निमोनियाले छोएको हुन सक्ने बताउँदै उनले दुई दिनअगाडि मात्र स्वास्थ्य चौकीमा ल्याउँदा चेकजाँच पछि कडा निमोनिया लागेको पत्ता लागेको बताए ।

मदाना स्वास्थ्य चौकीले उपचार गर्न नसकिने भन्दी कोल्टी प्राथमिक उपचार केन्द्रलाई रिफर गरेको थियो । घरपरिवारले सोमबार दिउँसो दुई बजेपछि मात्रै उनलाई कोल्टी पुर्‍याएको थियो।

कोल्टीका चिकित्सकहरुले पनि उपचार गर्न नसकिने भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए ।

सो समयमा कोल्टी बिमानस्थलको हवाई सेवा बन्द भइसकेको थियो । बुढालाई मंगलबार बिहान हवाई जहाजबाट नेपालगंज उपचारका लागि लैजानै तयारी परिवारका सदस्यहरुले गरेका थिए ।

बाह्र दिने शिशु अहिले परिवारका सदस्यसँगै रहेका छन् । ती नवजात शिशुलाई एसओएस बालग्राम सुर्खेतमा पालन पोषणका लागि लैजाने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *