२०८० फाल्गुन १२ गते शनिवार

सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप्ने निर्णय

काठमाडौं,पुस २३ । सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको म्याद दुई महिना थप्ने निर्णय गरेको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताए ।

असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो । ३ महिना समय पाएको आयोगले जाँचबुझ नसकिएको भन्दै म्याद थपको प्रस्ताव पठाएको थियो ।

आयोगको प्रस्ताव अनुसार म्याद थप भएको जानकारी आएको अध्यक्ष आचार्यले बताए । आयोगले ६० किलो सुन तस्करी र विद्युतीय चुरोट ‘भेप’ मार्फत गरिएको सुन तस्करीबारे जाँचबुझ गरिरहेको छ ।

म्याद थप भएसँगै आयोगले अर्को चरणको काम सुरु गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बुझेको तर, मुद्दा नचलाएका दुई जनासँग आयोगले बयान लिएको छ ।

भन्सार विभागमा कार्यरत उपसचिव मुक्ति श्रेष्ठ र विमानस्थल भन्सार कार्यालयमा कार्यरत अर्का उपसचिव श्रीधर टण्डनसँग आयोगका अधिकारीहरूले बयान लिएका हुन् ।

ब्रेक प्याडमा लुकाएर ल्याएको ६० किलो सुन विमानस्थलबाट पार हुँदा टण्डन मूल्याङ्कन शाखाका इन्चार्ज थिए । भन्सार एजेन्ट काठमाडौँ–३२ बस्ने ५५ वर्षीय कृष्ण कुमार श्रेष्ठसँग पनि आयोगले बयान लिँदै छ । उनी ट्रान्स ग्लोबस सर्भिस प्रालिका संचाकल हुन् ।

ट्रान्स ग्लोबल मार्फत रेडी ट्रेड प्रालिले हङकङबाट ब्रेक प्याडमा सुन मगाएको अनुसन्धानबाट थाहा भएको छ । श्रेष्ठ अहिले थुनामा छन् । केन्द्रीय अनुसन्धान ब्युरोले प्रतिवादी कायम नगरेका तर, बुझेका मानिसहरूको भूमिकाबारे विश्लेषण भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *