पाल्पा,पुस ८ । पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ।
स्थानीय टोलबहादुर पल्लीकी नौ महिने छोरी दिप्सना पल्लीको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार मध्याह्न १२ बजेतिर खरले छाएको घरमा एक्कासि आगलागी भएको हो। श्यामबहादुर पल्लीको घर जलेर पूरै नष्ट भएको छ।
मृतक बालिकासहित घरमा दुई छोराहरू रहेका थिए। आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै नष्ट भएको वडाध्यक्ष नवीन्द्र सोती थापाले बताए।
केटाकेटीलाई घरमा छोडेर दिउँसो घरबाट अभिभावक काममा गएको बेला आगो लागेको बताइएको छ।
घरमा लागेको आगो स्थानीय र प्रहरी मिलेर नियन्त्रण लिएका छन् । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार