काठमाडौँ,जेठ २ । प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाको टाउकामा चोट शौचालयमा लडेर लागेको प्रहरीले दाबी गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार उनले हिजो ९सोमबार० साँझ मात्र प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।
तर राति उनको टाउकामा गम्भीर चोट लागेपछि प्रहरीले ट्रमा सेन्टर लगेर टाँका लगाइदिएको छ। अहिले पूर्वसांसद शेर्पा प्रहरी परिसरकै नियन्त्रणमा छन्।
परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले शेर्पा राति शौचालयमा लडेको र टाउकामा चोट लागेको बताए।
‘उहाँ राति शौचालयमा लड्नुभएछ, हामीले राति नै ट्रमा सेन्टर लगेर उपचार गरायौँ, उहाँलाई फर्काइएको छ। सोधपुछ गर्ने काम भइरहेको छ’, एसएसपी कार्कीले भने।
यसअघि प्रहरीले चोटको कारण खुलाएको थिएन।
प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार