कञ्चनपुर,बैशाख १० । शनिवार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघलाई ललितपुरमा रहेको सदर चिडियाखानामा राखिने भएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखानामा राखिने जानकारी दिए ।
‘हामीसँग यहाँ खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिन लागेको हो ।’
बाघले आक्रमण गर्दा अस्ति शुक्रवार बेलौरी पचुईमा घाँस काटिरहेकी ४२ वर्षीया गङ्गा चन्दको ज्यान गएको थियो । चन्दसँगै घाँस काट्न गएका अन्य चार–पाँच महिलाले भागेर ज्यान जोगाएका थिए ।
बर्दियाबाट बाघविज्ञ डा. दिनेश देवकोटा नेतृत्वको टोलीले हिजो बिहान बाघ नियन्त्रणमा लिएको थियो।
ज्यान गुमाएकी महिलाको परिवारलाई राहत दिने निकुञ्जले जनाएको छ ।
प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
