भैरहवा, पुस ८ । तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले शुक्रवार रेलको शिलान्यास गरेका हुन ।
तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा अगाडि सारेको उनले बताए । यो तिलोत्तमा नगरवासीको समग्र साथ र सहयोगमा परियोजना सम्पन्न हुने आशा उनले व्यक्त गरे ।
तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार बिघामा नयाँ सहर विकास गर्ने कामसमेत अघि बढिरहेको उनले बताए । धेरै परियोजनाहरू नगरमा सञ्चालन भइरहेको उनले बताए।
तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र र एडिबी लगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए ।
एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर सञ्चालन हुने उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपियाँबाट डिपिआर तयार गरिएको उहाँले जानकारी दिए ।
रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले एक वर्ष ढिलो भएको बताए । कुल आठ अर्ब लागतमा ५० किलोमिटरको रेल सेवा सञ्चालन हुनेछ ।
स्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाइएको उनले बताए । प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उनले बताए।
चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन हुने उनले बताए।
यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाइट रेल्वे भएको उनले बताए। रेल सेवामा दैनिक ३० हजार, आठ लाख मासिक र वर्षमा एक करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानी लगायतको समेत सेवा दिन सकिने सम्भावना रहेको उनले बताए ।
यसबाट वार्षिक एक अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर एक अर्ब बचत हुने उनले दाबी गरे ।
परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले रोजगार पाउनेछन् । ६ वटा ट्राम टाइगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने उनले बताए।
एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्ने सक्ने उनले बताए। पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाइवेलाई जोड्ने गरी स्तरवृद्धि र विकास गर्ने लक्ष्य रहेको उनले बताए । रेल्वेमा ५५० जना संस्थापक सदस्य रहेको बताए ।
कार्यक्रममा सचिव डिल्लीनारायण पाण्डेले देशकै नमुना रेल्वे सञ्चालन गर्न आफूहरू आतुर रहेको बताए।