खोटाङ ,मंसिर १८ । खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
आइतवार बिहान साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेलका लागि छुटेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालकसहित चार जना घाइते भएका हुन् ।
ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐँसेलुखर्क गाउँपालिकाकी ईन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाइते भएका हुन् ।
ब्रेक पाइप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन विकले बताए ।
टाउको, कान लगायतका ठाउँमा चोटपटक लागेका घाइतेलाई घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ ।
घाइतेको अवस्था सामान्य रहेको छ । पाँच जना यात्रु रहेको बस सडकमै पल्टिएको हो ।
प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार