कञ्चनपुर,मंसिर १६ । कैलालीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया किशोरी चेतना साउदको मृत्युपछि अवस्था तनावग्रस्त भएको छ।
स्थिति नियन्त्रणबाहिर जाने भएपछि धनगढीमा प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरिसकेको छ।
निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै विद्यार्थीहरुले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।
निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा स्थानीय र विद्यार्थीले चेतनाका लागि न्याय माग्दै प्रदर्शन गरिरहेका छन्।
प्रहरीले निषेधाज्ञा जारी गरिएको क्षेत्रमा प्रदर्शन गर्नेलाई नियन्त्रणमा लिइरहेको छ। निषेधाज्ञा तोड्दै उच्छृंखल गतिविधि गर्नेमाथि प्रहरीले बल प्रयोग गरेको छ।
‘७/८ जना विद्यार्थीलाई नियन्त्रणमा लिएका छौं, निषेधाज्ञा जारी भएको क्षेत्रमा आउन खोजेका छन्, भीड तितरवितर गरिरहेका छौँ,’ कैलालीका डीएसपी बेदप्रकाश जोशीले भने।
भीड तितरवितर पार्न अश्रुग्यास समेत प्रहार गरिएको प्रहरीले जनाएको छ। प्रदर्शनकारीले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको विरोधमा किशोरी अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए। उनीहरुले बिहिबार घटनास्थलबाट शव उठाउन दिएका थिएनन्।
स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेर शव उठाएको थियो।
घटनास्थल आसपासको क्षेत्रमा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रशासनले निषेधाज्ञा लगाएको छ।