विराटनगर ,कात्तिक २८ । मोरङको उर्लाबारी नगरपालिकामा घाँटी रेटेर एक जनाको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार राती परिवार सदस्यभित्रका सुजन पाँचकोटीले काजी महराको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका हुन् ।
४२ वर्षीय मृतक महरा मामा र हत्या आरोपी २२ वर्षीय पाँचकोटी भान्जा हुन् । हत्याका क्रममा उर्लाबारी ८ निवासी पाँचकोटीले दाउको प्रयोग गरेको मोरङका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता दिपककुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार महरा विगत ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए । राति खाना खाएर सुतेका महरामाथि सुजनले दाउ प्रहार गरेको उनले जानकारी दिए ।
राति घाइते भएका महरालाई उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । उनको सोमबार बिहान करिब १ बजे मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले बताए ।
प्रहरीले हाल हत्या आरोपी सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । यद्यपि हत्याको कारण खुलि नसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए ।
