२०८२ जेष्ठ ३० गते शुक्रवार

छठ पर्वका लागि जलाशय किनार झकिझकाउ

काठमाण्डौ ,कात्तिक १२ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयका किनार झकिझकाउ बनाइएको छ ।

तराई, मधेसका विभिन्न ठाउँ र काठमाण्डौमा समेत छठ पर्व मनाइँदैछ । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि झकिझकाउ पारिएको छ ।

जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई सजाइएको छ ।

काठमाण्डौको गुह्येश्वरी, कमलपोखरी लगायतका ठाउँमा पनि नदी तथा पोखरी किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट बनाइएको छ ।

कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा सूर्यदेवको उपासना गरिन्छ । छठ पर्वको पहिलो दिन हिजो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ, जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ्य’ भनिन्छ ।

छठ व्रत गर्ने सबै जना चौथी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भइ ‘अर्वाअर्वाइन’ खाने गर्छन् । यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाइ शाकाहारी भोजन खाने गर्छन् । छठको दोस्रो दिन आज कात्तिक शुक्ल पञ्चमीमा बर्तालुहरु उपवास गर्ने गर्छन् ।

बेलुकीमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाँडामा अरबा चामलको खिर बनाउने गरिन्छ ।

सक्खर हालेर बनाइएको खिर देवीदेवतालाई प्रसादका रुपमा चढाइन्छ र प्रसाद स्वरुप खिर बर्तालुका साथै घरका अरु सदस्यले ग्रहण गर्छन्, यसलाई मिथिलाञ्चलमा खरना भनिन्छ ।

कात्तिक शुक्ल षष्ठी तिथिका दिन अर्थात् व्रत गर्ने महिलाले डुब्दै गरेको सूर्यलाई अर्घ्य दिने गर्छन् । बेलुकाको समयमा घण्टौँ जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अर्घ्य चढाउने गरिन्छ ।

यो दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायः रातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्छन् । पर्सि सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिन्छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *