२०८२ मङ्सिर १९ गते शुक्रवार

भारतले विना सूचना विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गयो

काठमाण्डौ,कात्तिक १२ । महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ ।

अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका–२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो ।

हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् ।

उनको खुट्टामा चोट लागेको र अहिले जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामीले जानकारी दिए । उनका अनुसार भारतले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना विस्फोट गराउँदा घटना भएको हो ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्याउने काम गर्न नपाइने र विस्फोट गराउनैपर्ने भए त्यसको सूचना दिनुपर्ने नियम छ ।

तर, हिजो भारतले सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा सूचना नै नदिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारत पिथौरागढ जिल्लाको धार्चुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखनपुर क्षेत्रमा सडक चौडा गर्ने क्रममा भारतीय पक्षले विस्फोट गराएको हो ।

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *