चितवन ,असोज २७ । चितवनमा करेन्ट लागेर एउटा गैँडा मरेको छ ।
आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडा मरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँचरछ वर्षको भाले गैँडा मरेको हो ।
यस ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए ।
कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैँडा मरेको जानकारी दिए ।
बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए । यो आर्थिक वर्षमा यससँगै दुई गैँडा मरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्क अनुसार ६ सय ९४ गैँडा छन् ।
प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार
