काठमाण्डौ,माघ २७ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अहिले कायममुकायमको भूमिकामा रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
गएको भदौमा कुलमान घिसिङको कार्यकाल सकिएपछि सरकारले प्राधिकरणकै उप–कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो ।
यस्तै कात्तिक २१ गते हितेन्द्रदेव शाक्यलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।
उनी यसअघि नेपाल विद्युत प्राधिकरणकै इन्जिनियरिङ कम्पनीको प्रमुखका रुपमा कार्यरत थिए ।
प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार