सल्यान, मंसिर २२ ।
त्रिवेणी गाउँपालिकाले यो वर्षदेखि विद्यार्थी स्कूल नआए अभिभावकलाई फोन गर्ने नीति अख्तियार गरेको छ । कक्षामा विद्यार्थीलाई नियमित बनाउन त्यस्तो अभियान सुरु गरिएको गाउँपालिका शिक्षा समितिले जानकारी दिएको छ । त्यसका लागि कक्षा शिक्षकलाई मोवायलमा रिचार्ज कार्डको व्यवस्था गाउँपालिकाले गर्दै आएको सूचना अधिकारी गोपाल केसीले जानकारी दिए ।
‘अव त्रिवेणीका हरेक विद्यालयमा पहिलो घण्टीमा कक्षामा जाने शिक्षकले जुन विद्यार्थी विद्यालय आएको छैन उसको अभिभावकलाई तुरुन्तै फोन गरेर कारण पत्ता लगाउने छन्,’ उनले भने ।
त्यसले बीचमै विद्यालय वंक गर्ने विद्यार्थीको संख्या समेत घट्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बताए । हरेक महिना कक्षा शिक्षकलाई एक सय रुपैयाँ मोवाइल ब्यालेन्स उपलब्ध गराइने शिक्षा शाखा प्रमुख दामोदर शर्माले बताएका छन् ।
सामुदायिक विद्यालयको पठनपाठनलाई थप प्रभावकारी बनाउने उदेश्यका साथ गाउँपालिकाकाले थालेको अभियानले सकारात्मक परिनाम ल्याउने शर्माले आशा व्यक्त गरे ।