दाङ । दाङमा झगडा छुटाउन गएका एकजना प्रहरी माथि नै खुकुरी प्रहार भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवामा गएराति सवा ९ बजेतिर दुई समुहका बीच भइरहेको झगडा छुटाउन गएका प्रहरी जवान चन्द्रप्रकाश वली माथि खुकुरी प्रहार भएको हो । ईलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत वलीको टाउको १० वटा टाँका लगाउनु परेको प्रहरीले जानकारी दिएको छ । ईप्रका खिलतपुरका प्रमुख एवं प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले घाईते प्रहरी जवान वली राप्ती अंचल अस्पताल तुलसीपुरको उपचार पछि शुक्रवार दिउँसो डिस्चार्ज भइसकेको जानकारी दिए ।
‘झगडा छुटाउन गएका वलीमाथि नचिनेर हुलमुलका खुकुरी प्रहार भएको हो ।’ चौधरीले भने । त्यही झगडामा स्थानीय बिशाल रोका र नैनबहादुर नेपालीको टाउकोमा खुकुरी प्रहार भएको छ । नेपालीलाई राप्ती अंचल अस्पतालको उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुरमेडिकल कलेजमा लगिएको भएपनि रोकाको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच प्रहरीले शान्तिनगर गाउँपालिका २ अमुवा निबासी २५ बर्षीय चन्द्रवहादुर नेपाली, २० बर्षीय नैनसिङ नेपाली, २२ बर्षका सुकलाल नेपाली र १६ बर्षीय बीरबहादुर नेपालीलाई पक्राउ गरिएको जानकारी दिएको छ । स्थानीय बिशाल रोका र चन्द्रप्रकास नेपालीको समुहको बीचमा झडप हुँदा त्यो छुटाउन भनि प्रहरी गएको थियो ।
पक्राउ गरिएका व्यक्तिहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनामा राखिएको छ । पक्राउ परेका व्यक्तिहरुलाई ज्यानमार्ने उद्योग सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । पक्राउ परेका व्यक्तिको साथबाट खुकुरी लगाएत घरेलु हतियार बरामद भएको प्रहरीले जानकारी दिएको छ ।