सम्पादकीय
रेडियो तुलसीपुरका तत्कालिन संचालक समितिका अध्यक्ष देबीप्रशाद धिताल (हेमराज) हत्याको साउन ६ गते १४ बर्ष पुरा भयो ।
२०६७ साल साउन ६ गते बेलुकी सवा ६ बजेतिर ढुकेर बसेका अपरिचित हतियार धारी समुहले राप्ती राजमार्ग अन्तरगत साबिक उरहरी गाविसको जस्पुर भन्दा थोरै माथि हेमनगरमा उनको गोली प्रहार गरि हत्या गरेको थियो । त्यो दिन धिताल आफ्नै पुर्खेउली घर रहेको गाविस उरहरी अन्तरगतका गाउँहरु कटाँहा, हस्नापुर लगाएतमा पुगेर मोटरसाइकलमा फर्किदै थिए । उनको पुर्खेउली घर साबिक उरहरी ८ बेलगनारमा थियो ।
त्यो गाउँमा अहिले पनि धिताल परिवारको जग्गा जमिन छ । त्यो सयममा नेपाली काँग्रेसको वडा अधिवेशन हुने तयारी हुँदै थियो । तत्कालिन राप्ती यातायात समितिका अध्यक्षसमेत रहेका धिताल आँफु सक्रिय राजनीतिक जिवनमा प्रबेश गर्ने तयारी गरि रहेका थिए । सोही उदेश्यका साथ वडाको तयारी गर्न भनेर उनी आफ्नो गाविका वडाहरुमा भेटघाट गरि फर्किदै थिए ।
तुलसीपुरमा टरिगाउँ एयरपोर्टको ठिक माथितिर उनको घर छ । धिताल परिवार त्यही बस्थ्यो । बिभिन्न नेता कार्यकर्तालाई भेटघाट गर्दै आउने क्रममा हेमनगरस्थित काँग्रेसमा आस्था राख्ने मावि उरहरीका पूर्व शिक्षक गुरुप्रशाद सुबेदीलाई भेट्न तथा अधिवेशनका बारेमा सरसल्लाह गर्न उनको घरमा जानका लागि मोटरसाइकल रोक्दै थिए । त्यही क्रममा अनुाहारमा मास्क लगाएका र बाटो ढुकेर सडक किनारमा बसेको हतियार धारी समुहले धितालमाथि एकाएक गोली चलाइयो ।
समसाँझैको त्यो घटना प्रत्यक्ष दर्सीका अनुसार त्यसपछि धिताल आत्तिदै सुबेदीको घर भित्र दौडिएर प्रबेश गर्न खोजे । बाँच्न कस्लाई मन हुन्न ? ज्यान कस्लाई प्यारो लाग्दैन ? हडबडाएका धितालले छेकवारका लागि लगाइएका बाँसका घाराहरु तत्कालै खोल्न सकेनन् । उपाए नचलेपछि उनी बाँच्ने आशाले तल्लो घर तर्फ दौडिए । तर, सुनियोजित र योजना बद्ध रुपमा हत्या गर्ने उदेश्यका साथ बाटो ढुकेर बसेको त्यो हतियार धारी समुहले उनलाई लखेट्दै लग्यो । धिताल ५०देखि १०० मिटर केही दक्षिण भाग्दै गए । त्यहाँ गोठ थियो । कुँवापनि थियो ।
त्यही ठाउँमा त्यो हतियार धारी समुहले घेरा हाले । फेरि फायर गरे । उनी भुइमा लडे । त्यसपछि तत्कालै हत्या गर्ने योजनासहित ताकेरै छातिमा गोली दागे । अनि त्यो हतियार धारी दुई तीन जनाको समुह नजिकै पश्चिमको मकै बारी भित्र प्रबेश गरे । यो कुरा स्थानीय प्रत्यक्षदर्सीले उतैखेरै बताएका थिए ।
घटना समसाँझकै थियो । झुसमुसे अँध्यारो भइ सकेको थिएन । समसाँझै राजमार्गमा केही युवाहरु झोला बोकेर बसेको मुख बानेको देखेपनि मानिसहरुले कुनै वास्ता गरेनन् । तर, उनीहरु हत्या योजनासहित धिताललाई ढुकेर बसेका रहेछन भन्ने कुरा स्थानीयले घटना पछि मात्रै थाहाँ पाए ।
नत्र स्थानीयले पनि उनीहरुलाई केरकार गर्न सक्थे । नियाल्न सक्थे । तर, बाटो छेउ बसेका युवाहरु हत्याको योजना बुनेर बसेका कुरा कसैले चाल पाएनन् ।
गोली चल्दै गरेपछि नजिकमा पर्ने कसैले आँट गरेनन् । धिताल हत्या प्रकरण नाटकीय ढंगले र फिल्मी सैलीमा भएको थियो ।
धिताल हत्या पछि बिभिन्न अधिकारकर्मी तुलसीपुर आए । अधिकारकर्मी र संचारकर्मीले हत्याराको पहिचान गरि सार्वजनिक गर्न माग गरे । तत्कालिन समय जिल्ला र तुलसीपुरमा रहेको इप्रका प्रहरी अधिकारीहरुले आँफुहरु हत्यारोका नजिक पुगेको बताउने गर्थे । तर, १४ बर्ष बितिसक्दा पनि धितालको हत्याको कारण र हत्यारा पत्ता लगाउन प्रहरी प्रशासन असफल भएको छ । प्रहरी आँफुले हालसम्म गरेको अनुसन्धानको प्रतिबेदनसमेत हालसम्म सार्वजनिक गर्न सकिरहेको छैन ।
यस्ले गर्दा धिताल परिवार मात्रै हैन सिंगो समाज अन्यौंलमा छ । एउटा सामाजिक क्षेत्रमा लागेको उदयमान युवकको हत्या कस्ले र किन गरेको थियो ? त्यो जान्ने तीब्र चाहाना घर परिवार, आफन्त र समाजलाई पनि छ । त्यो घर परिवार र समाजको अधिकारपनि हो । यही माग राख्दै धिताल प्रतिष्ठानले बर्षेनी साउन ६ गते उनको स्मृति दिवस मनाउँदै आएको छ ।
जहाँ उपस्थित आफन्तका आँशुहरु टिलपिल हुन्छन् । १४ बर्षसम्म रुँदा रुँदा आँशु रित्तिए जस्तै लाग्ने आँखाहरु उनीहरुका हुन्छन् ।
अतहः तत्कालिन समय रेडियो तुलसीपुरका साथै राप्ती यातायात समितिको एकै साथ नेतृत्व गरिरहेका तथा बिभिन्न अन्यपनि सामाजिक संघ संस्थामा आवद्ध धिताल जस्ता सामाजिक क्षेत्रमा क्रियासिल युवाको हत्या अबिलम्ब सार्वजनिक गर्न तर्फ प्रहरी प्रशासन लाग्नु पर्छ । उनको हत्याको कारण के थियो ? त्यो जान्ने र हत्यामा संलग्न ब्यक्ति गरि सार्वजनिक भएको सुन्ने, देख्ने तीब्र प्रतिक्षामा सिंगो समाज छ ।