काठमाडौं ,बैशाख १६ । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ ।
विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागू हुने विभागले जनाएको छ ।
अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।
यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ वैशाखमा सहमति दिएको थियो ।
सोहीअनुसार सार्वजनिक सवारी साधनको भाडा बढाइएको विभागले जनाएको छ ।
हाल डिजलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ । विद्युतीय सवारी साधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ ।
यदि विद्युतीय सवारी साधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ ।