
घोराही, बैशाख १८ ।
शुक्रबार घोराहीमा प्रदर्शन भयो । सयौं पुरुष र महिला सहभागी त्यो पर्दशन दाङका भूमिहीन सुकुम्बासीको पक्षमा काम गर्ने संगठनहरूको आयोजनामा भएको थियो । जस्मा नेकपा र नेकपा एमालेका जिल्ला तहका केही नेताहरुपनि सहभागी थिए ।
उनीहरुले प्रधानमन्त्री बालेन शाहका बिरुद्ध चर्का नाराबाजी गरे । भूमिहिन संगठनले सरकारको पछिल्लो डोजर आतंक बन्द गर्न माग गरेका थिए ।
सडकको पर्दशन पछि उनीहरुले पत्रकारका नेतालाई ज्ञापनपत्र बुझाए । उनीहरुले उक्त ज्ञापनपत्र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन मार्फत प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । श्रमिक दिवसमा सरकारी बिदा भएका कारण जिल्ला प्रशासन कार्यालय दाङमा आफूहरूको मागसहितको ज्ञापनपत्र पुर्याइदिन उनीहरुले अनुरोध गरेका थिए ।
विभिन्न माग राखी आन्दोलनमा उत्रिएका भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटी दाङका अध्यक्ष बसन्त नेपाल, मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी, दलित संगठन दाङका अध्यक्ष शंकर नेपाली, गुठीमोही संगठन दाङका अध्यक्ष प्रभु चौधरीले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।
