तुलसीपुर, बैशाख १७ ।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अबको २१ दिन भित्रै प्रशासनको नामको खाली जग्गा छाड्न उर्दी जारी गरेका छन् ।
बिहीबार सार्वजनिक सूचना जारी गर्दै प्रजिअ अर्यालले जिल्ला प्रशासन कार्यालय घोराही दाङको नाममा रहेको घोराही उपमहानगरपालिका वडा नं. १४ र १६ मा रहेका सुकुम्बासी बस्ती आँफै हटाउन आग्रह गरेका हुन ।
उनले वडा नं. १४ र १६ अन्तरगत घोराही ७ (ख) कित्ता नम्बर ६५१ को क्षेत्रफल १३–१४–३–० (९२८३५.८० बर्ग मिटर) भएको जग्गामा अनाधिकृत रुपमा निर्मित घर टहरा हटाउन सूचित गरेका हुन ।
प्रशासनको नामको उक्त जग्गामा अनाधिकृत रुपमा निर्मित घर टहरा निर्माण गरेर वा भोगचलन गरि जग्गा अतिक्रमण / कब्जा गरि बसेका ब्यक्ति तथा संस्था सबैलाई २१ दिन भित्र घर टहरा तथा भौतिक संरचना हटाइ जग्गा खाली गर्न उनले आग्रह गरेका छन् ।
प्रजिअ अर्यालले त्यहाँ निर्मित संरचना आँफै नहटाए प्रशासनले हटाउने चेतावनी दिएका छन् ।
प्रजिअ अर्यालले सार्वजनिक सूचना मार्फत प्रशासनले बास्तबिक भूमिहिन / सुकुमबासीलाई अनेत्र ब्यबस्था गर्न सकिने भएकाले त्यस्ता ब्यक्तिलाई दश दिन भित्र प्रशासनमा लिखित रुपमा निबेदन दिन आग्रहपनि गरेका छन् ।
जिल्लामा हालसम्म लमही बसपार्क क्षेत्रमा अतिक्रमण गरि निर्मित घर टहरा हटाइ सकिएको छ ।
बिहीबार मात्रै राप्ती गाउँपालिका स्थानीयले पर्दशन गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रका स्थानीयले सरकारको डोजर आतंक विरुद्ध नाराबाजी गर्दै पर्दशन गरेका हुन ।
प्रदेश मन्त्रालय पूर्वीद्वार मसुरिया चौरबाट शुरु भएको बिरोध र्याली राप्ती गाउँपालिका कार्यालय द्वारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उनीहरुले राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टलाई आँफुहरुलाई नहटाउन आशयसहितको ज्ञापनपत्र पनि बुझाएका थिए । र्यालीका सहभागिले प्रधानमन्त्री बालेन्द्र शाहको बिरोध गर्दै विभिन्न नारा बाजी गरेका थिए ।
यसअघि तुलसीपुरमा पनि यसैगरि पर्दशन भएको थियो ।
दाङमा संस्कृत विश्वविद्यालय, प्रहरी, अदालतका साथै अस्पताल र विद्यालयहरुको हजारौं बिगाहा जमिन अतिक्रमणको चपेटामा छ ।
