तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित टरिगाउँ महिला कृषि सहकारी संस्था लिमेटेडको कार्यालय शुक्रबार दिनभर जसो स्थानीय किसानले धर्ना दिए ।
उक्त सहकारीले बेचेको ‘के गोल्ड’ नामक रासायनिक मलको बोरामा बालुवा र माटो फेला परेपछि त्यो मल लगेका किसान चिन्तित छन् । किनकी त्यो मल प्रयोग गरेका किसानको धानमा कुनै असर वा प्रभाव परेको अझैंसम्म देखिएको छैन ।
यहाँका किसानका लागि बर्ष दिनका लागि अन्नको जोहो गर्न प्रमुख माध्यम नै धान खेती हो । त्यही धान खेतीमा प्रयोग गरेको मलका बोरोमा बालुवा र माटो फेला परेपछि किसानले अपेक्षित उत्पादन गर्न सक्ने अवस्था रहँदैन ।
एकातर्फ समय घर्की सकेको छ । फेरि ब्याड राखेर खेत रोप्दा ढिला हुन सक्छ । अर्कौ तर्फ किसानलाई दोब्बर खर्च हुन जान्छ ।
त्यसैले क्षतिपूर्तिको माग गर्दै दर्जनौं किसान सहकारीमा पुगेका थिए । मुख्य बाली धान खेतीको समयमा समयमै आवश्यक मल तथा बीउको प्रबन्ध गर्न नसक्नु राज्यको ठूलो कमजोरी हो ।
त्यसको फाइदा उठाउँदै सहयोगका नाममा स्थानीय सहकारी तथा समुहले मलको ब्यापार गरि मनग्य आम्दानी गर्दै आएका छन् । ठूलो कमिसनको चलखेल हुने गर्छ ।
त्यसमा पनि कतिपयले गुणस्तरहिन र कमसल रासायनिक मल खरिद गरेर किसानको भविश्य र पसिनामाथि खेलावाड गरेका दृष्टान्टहरु प्रसस्तै सुन्नमा आउन थालेका छन् । त्यसको नियमन गर्ने निकाय मौन छ । स्थानीय सरकार लाचार छ ।
किसानलाई चाहिएको समयमा मल बीउ उपलब्ध गराउन नसक्ने निकम्मा सरकारकै कारण बिचौलीले हाबी भएका हुन । सोझा साझा किसानको पसिनामाथि खेलवाड भइरहेको छ । अबिलम्ब राज्य यो समस्या समाधान गर्न अग्रसर बन्नु पर्छ ।
किसानको भविश्य र पसिनामाथि खेलवाड गर्ने, गुणस्तर हिन मल ल्याएर बिक्रि गर्ने सहकारी सञ्चालकमाथि कारबाही गर्न राज्य तयार हुनुपर्छ । अन्यथा किसानको उठेभने उनीहरुको आक्रोस बिस्फोट भयो भने राज्यलाई त्यो थेग्न मुस्किल पर्न सक्छ ।
अतहः समुह वा सहकारीका नाममा कमसल मल किसानलाई महंगोमा बेच्ने र अकुत कमाउनेहरु बारे अनुसन्धान गरि दोषी पाइए कारबाही गर्न आवश्यक छ ।
