
आन्दोलनको उपलब्धि र औचित्य के भयो ?
तुलसीपुर , भदौ २३ ।
जेनजीका नाममा युवाले गरेको आन्दोलनको एक वर्ष पुरा भएको छ । गत वर्ष भदौ २३ गते काठमाडौंमा सुशासनको माग गर्दै नव युवाहरु आन्दोलनमा होमिएका थिए ।
भ्रष्टाचार र बेथिति अन्त्य गरी सुशासन कायम हुनुपर्ने मागसहित स्कुले बिद्यार्थीसहितको त्यो आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । वानेश्वरस्थित संसद भवन परिशरमा आन्दोलनरत जेन्जी युवाहरु निषेधित क्षेत्र भित्र प्रबेश गरि तोडफोड तथा आगजनीको प्रयास गर्न खोजेका निहुमा प्रहरीले गोली चलाएको थियो ।
त्यसको बिरोधमा भदौ २४ गते भएको जेनजी आन्दोलनमा देशका प्रमुख संरचना र नेताकाहरु खरानी पारिएका थिए । संसद भवनदेखि, सिंहदरवार, सर्बौच्च अदालत, राष्ट्रपति कार्यालय नेताका निवासहरु सबैमा तोडफोड र आगजनी भएको थियो ।
सहकारीको रकम हिनामिना प्रकरणमा कारागारमा रहेका राश्वपा सभापति रवि लामिछाने भदौ २४ गते आन्दोलनकै बलमा जेलबाट जोर जबरजस्त निकालिएका थिए । देशभरका जेलहरु तोडेर वा हुलहुल्लज गरि हजरौं कैदी बन्दी भागेका थिए । प्रहरीका सयौं थान हतियार लुटिएका थिए । प्रहरी ब्यारेक र चौकीहरु ध्वस्त पारिएका थिए ।
दूई दिनसम्म चलेको त्यो आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । सयौं अंगभंग भएका थिए । सोही आन्दोलनका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको अस्तित्व सकिएको थियो । सर्बौच्चकी प्रथम महिला प्रधानन्यायाधीस सुशिला कार्की अन्तरिम प्रधानमन्त्री बनाइएकी थिइन ।
कार्की नेतृत्वको सरकारले तत्कालीन प्रतिनिधिसभा विघटन गर्दै २०८२ फागुन २१ गते निर्वाचनको मिती तोकेर निर्वाचन पुरा भइ हाल राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता ३५ बर्षीय बालेन्द्र शाह (बालेन) मुलुकको सत्ताको बागडार सम्हालिरहेका छन् ।
भदौ २३ र २४ गतेको त्यो आन्दोलनका क्रममा सरकारी कार्यालय, नेताका निजी निवास, निजी ब्यापार रहेका भवन तथा कार्यालय, मुलुका सम्पदा तथा धरोहर सबै खरानी पारिएका थिए । नेपाली काँग्रेसका तत्कालिन सभापति बयोबृद्ध नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा तत्काकालिन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको बुढानिलकष्ठस्थित निजी निवास तोडफोड तथा आगजनीबाट पूर्ण रुपमा नष्ट भएको थियो ।
देउवा दम्पत्ति माथि निर्घात कुटपिट तथा आक्रमण भएको थियो । त्यो आक्रमणका कारण गम्भीर चोट पटक खेपेका देउवाले लामो समय बिदेशको उपचार पछि हालसालै स्वदेश फर्किएका छन् ।
काठमाडौंमा मात्रै होइन भदौ २४ गते मुलुक भरका त्यस्ता संरचनामा तोडफोड र आगजनी भएको थियो । दाङमा पनि अधिकाँस सरकारी कार्यालयहरुमा आगजनी तथा तोडफोड भएका थिए । तुलसीपुरमा उच्च अदालत तुलसीपुर, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय, लोकसेवा कार्यालय, यातायात ब्यबस्था कार्यायल, नेपाली काँग्रेसका तत्कालिन केन्द्रीय सदस्य गेहेन्द्र गिरीको निजी निवास, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निजी निवास, नेकपा एमालेकी तत्कालिन केन्द्रीय सदस्य कोमल वलीको रिसोर्ट, एमाले महासचिव शंकर पोखरेलको निजी निवासका साथै तुलसीपुर र घोराहीमा रहेका काँग्रेस एमालेका पार्टी कार्यालयहरुमा तोडफोड , चोरी तथा आगजनी भएका थिए ।
तत्कालिन प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले त्यो हिंसात्मक घटना छानबिन गर्न भन्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो ।
कार्की नेतृत्वको सोही आयोगले झन्डै पाँच महिनापछि आफ्नो प्रतिबेदन सरकारलाई बुझाएको थियो । तर, हालसम्म पनि त्यो प्रतिबेदन सरकारले सार्वजनिक गरेको छैन ।
हिंसात्मक तथा ध्वंसात्मक कार्यमा संलग्न कतिपय ब्यक्तिहरु अहिले पनि निस्फिर्की घुमिरहेकै छ्न ।
तर, यो बीचमा बालेन प्रधानमन्त्री भए लगतै जेन्जी आन्दोलन ताका प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओली र गृहमन्त्री रहेका काँग्रेस नेता रमेश लेखक पक्राउ गरिएपनि उनीहरु केही दिनमै छुटेका थिए । शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले चैत १३ गते कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरे लगतै दोस्रो दिन अर्थात चैत १४ गते पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ गरिएका थिए । तर, सर्बौच्च अदालते ओली र लेखक दुबै जनालाई रिहा गर्न आदेश दिएपछि सरकार जिल्ल परेको थियो ।
यो बीचमा एमाले उपाध्यक्ष बिष्णु पौडेल पार्टीको कार्यक्रमको शिलशिलामा सुर्खेत पुगेको समयमा पक्राउ गरि गाडी मार्फत रातारात काठमाडौं पुर्याइएको थियो । उनी सम्पत्ति शुद्धिरकणको आरोपमा पक्राउ गरेपनि छिट्टै छुटेका थिए ।
साथै यो बीचमा प्रतिष्ठित ब्यापारी, उद्योगी, निर्माण ब्यबसायी पनि हचुवाको भरमा पक्राउ गरिएका भनि उनीहरु मध्य अधिकाँस अदालतको आदेशका कारण रिहा भएका थिए ।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले छुट्टै छानबिन गरी प्रतिवेदन कार्यान्वयनका सिफारिस गरेको भएपनि त्यसको पनि सुनुवाइ हुन सकेको छैन । निजी निवास, ब्यापारिक भवन आदिमा आगजनी गर्नेहरु माथि कारबाहीका लागि ब्यक्ति बिषेशले पनि राज्यलाई सिफारिस गरेको भएपनि त्यसको पनि उचित सुनुवाई हुन सकिरहेको छैन ।
आन्दोलनमा उत्रिएका नव युवामाथि गोली चलाउन आदेश दिनेदेखि गोली चलाउने तथा मौकाको फाइदा उठाउँदै गम्भीर खाले अपराधका घटनामा संलग्नहरुलाई कारबाहीको माग समाजले पनि गर्दै आएको छ ।
आजपनि कतिपयले जेन्जी आन्दोलनको उपलब्धि र औचित्य माथि प्रश्न उठाउँदै आएका छन् ।
