दाङ, पुस ११ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा विघटनको विरोधमा यहि पुस १३ गते कांग्रेसले गर्न लागेको प्रर्दशनमा सहभागि हुन सबैमा अपिल गरेको छ ।संघको पाटी कार्यालय लमहीमा आज शनिबार बसेको बैठकले संसद विघटन र सरकारका पछिल्ला कदमबारे देशव्यापी रुपमा गर्न लागिएको विरोध प्रर्दशनमा सहभागी हुन सबै नागरिकलाई आग्रह गरेको हो ।
सरकार पछिल्लो समय जनताका भन्दा पनि आफ्ना समस्यामा बढी केन्द्रीत भएको संघको बैठकले निश्कर्षसमेत निकालेको छ । बैठकले नेतृत्वमा सत्ता मोह र नेकपामा देखिएको प्रवृतिका कारण जनताले समस्या भोग्नुपरेको निष्कर्ष निकाल्दै खबरदारीका लागि जनताको साथ आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
कोरोना महामारीमा सरकार गम्भिर हुन नसकेको, अनियमितता र भ्रष्टाचार मौलाएकोले जनता अहिले सडकमा आउनुपरेको भन्दै संघले देशमा सुशासन कायम हुन नसकेको बताएको छ ।
नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ का सभापति प्रवल रसाइलीको अध्यक्षतामा बैठक बसेको हो । महाधिवेशन प्रतिनिधि तारा नेपाली, नेपाल दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष कलसिंङ विक, दलित संघ क्षेत्र नम्बर १ निवर्तमान अध्यक्ष चन्द्र नेपाली लगायतले नागरिक अहिले पनि रोग र भोकमा छट्पटाउन बाध्य पारिएको भन्दै पुस १३ गतेको दिन देशव्यापी रुपमा हुन लागेको विरोध प्रर्दशनमा सहभागिता लागि सबैमा आग्रह गरेका हुन् ।