दाङ, मंसिर ५ ।
नेपाली काँगे्रसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवाको बिरुद्धमा गुटबन्दी गरेको भन्ने कुरा गलत भएको बताएका छन् । प्रेस युनियन दाङले मंगलबार बेलुका दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै सिंहले पार्टी संस्थागत रुपमा चल्नु पर्छ भन्ने आफुहरुको मागलाई गुटवन्दी भन्नु गलत व्याख्या भएको तर्क गरे । ‘बहुमतको नाममा पार्टीभित्र एकलौटी निर्णय गर्न थालेपछि पार्टी सभापतिलाई विधि सम्मत रुपमा चल्न मात्रै आग्रह गरिएको हो । त्यसलाई गुटवन्दी भन्नु गलत हो ।’ नेता सिंहले भने ।
पूर्व महामन्त्री समेत रहेका सिंहले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको लामो सयम वितिसक्दा पनि पार्टी पुरानै ढर्रामा चलाउन खोजिएको हुँदा त्यो सुधार्नु पर्छ भन्ने आग्रह आफुहरुले गर्दै आएको बताए । प्रतिनिधिसभा सदस्य समेत रहेका सिंहले पार्टीको नीति र विधि बिपरित सभापतिले काम गरेको बताए । ‘पार्टी नीति र विधिसम्बत हुनुपर्छ भन्ने हाम्रो आवाज हो ’, उनले भने ‘हामीले पार्टीलाई सुधार गरेरै देखाइदिने छौं ।’
पार्टीको नेतृत्व शैली एवं विधान समेत एकात्मक भएको बताएका उनले लोकतान्त्रिक परिपाटीको निर्माण गर्न गृहकार्यमा जुटेको जानकारी दिए । पूर्वमहामन्त्री एवं उपसभापति समेत भइसकेका नेता सिंहले राष्ट्रिय राजनीतिमा त्यही भएर काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताए ।
‘संघीयता र संविधान कार्यान्वयनमा काँग्रेस सधँैभरि सक्रिय भएर लागिरहने छ’ सिंहले भने । प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।