२०८१ बैशाख ७ गते शुक्रवार

यस्तो छ, ४ करोड बजेटमा सभामुख महराको विकासे योजना

दाङ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. २ का योजनाहरु छनोट गरि बजेट विनियोजन गरिएको छ ।कूल ४ करोड बजेट रहेको उक्त कार्यक्रममार्फत् सबैभन्दा बढी बंगलाचुलीस्थित कमिरेचौरमा १५ शैयाको अस्पताल निर्माण र मावि दुधरासमा प्राविधिक शिक्षाका लागि भवन निर्माणमा ५०÷५० लाख रकम विनियोजन गरिएको छ ।

त्यसैगरी बंगलाचुलीकै लाहापे सामुदायिक स्वास्थ्य इकाई निर्माणका लागि २५ लाख, स्यूजा टुसार–जरुवा मोटरबाटो निर्माणका लागि २५ लाख, घोराही १२ को मावि निघुवारको प्राविधिक कृषि शिक्षा भवन निर्माणका लागि २५ लाख, घोराही ६ फचकपुर–पक्वै–बचाह– जोड्ने वैरहीसोतामा पुल निर्माणका लागि २५ लाख, घोराही ९ एकलघरुवा डिप ट्युवेल वितरण प्रणाली निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी घोराहीमा बधशाला निर्माणका लागि १५ लाख, घोराही १७ मा सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि १५ लाख, सर्वोदय पुस्तकालयको भवन निर्माणका लागि १५ लाख, घोराही ४ ढुङ्गेडाँडामा डिपबोरिङका लागि १५ लाख, घोराही १३ बाँसबोट–बडहरा–लाहुरेडाँडा–तेरौटे स्कुल हुँदै अटो भिलेज पक्की नालासहित सडक स्तरोन्नतिका लागि १५ लाख, सहिद स्मृति विद्यालयका लागि १५ लाख, तुलसीपुर १६ डोक्रेना बर्दियाडाँडामा डिप बोरिङ निर्माणका लागि १५ लाख, घोराही ८ दुन्द्रा–वेलनी पक्की बाँध र नहर निर्माणका लागि १५ लाख र घोराही ११ नयाँबगाले–पालुथान–खुङ्कोट–चाँचला मोटरबाटो निर्माणका लागि १५ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी घोराही १७ बर्गदीमा सहिद स्मृति पार्क निर्माणका लागि १० लाख, घोराही १९ लाँकुरीबजार–घोरधारा–स्वर्गद्वारी सडक निर्माणका लागि १० लाख, घोराही १८ सुपैलाखुटी लिफ्ट सिचाइका लागि ट्रान्सफर्मर र कुला निर्माणका लागि १० लाख र तुलसीपुर १९ खैरेनी ग्वारखोलामा तटबन्ध निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा शिक्षा क्षेत्रको पूर्वाधार विकासका लागि सबैभन्दा बढी १ करोड २० लाख विनियोजन गरिएको छ भने स्वास्थ्यतर्फ ७५ लाख, सडक र पुलपुलेसातर्फ ९० लाख, सिचाई तथा खानेपानीतर्फ ९० लाख र बधशाला तथा सहिदपार्क निर्माणतर्फ २५ लाख बजेट विनियोजन गरिएको छ ।

स्थानीय स्तरबाट थुप्रै योजनाहरु माग भए पनि सीमित बजेटका कारण सबैलाई सम्बोधन गर्न नसकिएको सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले बताए । अहिलेको कार्यक्रममा नसमेटिएका योजनाहरुलाई प्राथमिकतामा राखेर अन्य स्रोतहरुको खोजी गर्ने उनले बताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *