तुलसीपुर, असार १४ ।
अब त रक्सी खान सिक्नु पर्छ ।
मैले एक साँझ आफैँसँग यस्तो निर्णय गरेँ । त्यही बेलादेखि म रक्सी नखानेको सूचीबाट रक्सी खानेको सूचीमा जान आतुर छु । कारण अनेक छन – समाज, संस्कृति, सल्लाहकार साथीहरू, अनि अलिकति मेरो रोजगारी पनि ।
सुनिन्छ –
रक्सी नखाने मान्छे स्वीकारयोग्य हुँदैन । साथीहरू भन्छन्न –
कस्तो खड्के टाइपको मान्छे हो? रक्सी पनि नखाने ?
खाँदैन भने के खान्छस ? दूध ? केहीले भन्छन् –
त्यसलाई नबोलाउ यार, ऊ रक्सी बुझेको छैन ।
रक्सी नखाने? के कसम खाएछ जीवनमा ।
कि भूपु कै मायामा छोडिस क्या … हा…हा । सवैजना हाँस्छन । म भने यी सबै गुनासोहरूसँग जुधिरहँदा, अब म सिक्ने विचार गरको छु – ‘रक्सी खान’ ।
साथीहरूले बोतल खोलेपछि सबैजना – अनुहार उज्यालो बनाउँछन । म चाँही पानी र चिसो माग्छु — साथीहरू गिज्याउँछन । त्यसैले निर्णय गर्दै छु – अब म पनि मुस्कानसाथ बोतलतिर हेर्छु – अझ बोत्तललाई सलामी पनि ठोक्छु ।
रक्सी नखानेको जीवनमा ठूलो पीडा छ । न धेरै साथीभाइ, न कुनै जमघट रमाइलोमा बोलाउछन । कतै घुम्न जान खोज्यो मेरै नाम पहिले छनौट हुन्छ – उस्लाई नलैजाने भनेर । उसले रमाइलो गर्नै जानेको छैन – के लानु । साथीहरू भेट भयो कि साउती गर्दै घोचपेचका यस्तै कुरा गर्छन ।
अलिकति टेष्ट त गर यार ।
मायाले दिएको हो । यत्ति त रित्याइदेन यार ।
थोरै मात्र चाख यार । फ्रिमा हो यार खान । आफू जस्तै लोभि सम्झेँको होला, हैन त तैले मलाई पनि । तैले पैसा बचत गरेर के गर्ने विचार गरेकोछस । जब कि लाईफमा इन्ज्वय बुझेको छैनस । यस्तै यस्तै कुरा साथीहरु बाट सुन्नु पर्छ ।
अब मलाई लागेकोछ – रक्सी पिउनु –पिउनुू मात्रै होइन, साथीहरूको माया पनि हो । अपनत्व पनि हो ।
रक्सी खाने साथीहरुका गफ र रवाफ सुन्दा लाग्छ कि – मैले जीवन जिउन जानेकै छैन ।
समाजको आँखामा असली मान्छे हुन रक्सी खान सिक्नुपर्ने रहेछ क्यारे ? आजभोलि ज्ञानभन्दा धेरै रक्सीको स्वाद बुझेको मान्छेको स्तर बढ्ता रहेछ । अब नसिकी भयन रक्सी खान ।
हाम्रो समाजले अब यस्तो मोड लिएको छ, जहाँ मानिसको इज्जत उस्ले खाएको रक्सीको ब्रान्ड र मातिएको नाटकले नापिन्छ । आफू ‘स्ट्रगल’ गर्दै हो कि ‘स्ट्रङ’ बन्न खोज्दै हो ? त्यो त केही थाँहा हुँदैन, तर ‘रक्सी खान जान्दैनस’ भनेपछि तँ मान्छे नै हैनस भन्नेहरु धेरै मेरा साथीहरु छन् ।
यो अवस्थाले मलाई भित्रभित्रै चिमोटन थालेको छ ।
पहिलेपहिले त के हो, ‘रक्सी खायो भने बदमास हो’ भन्ने बुझ्थ्यो समाज । तर, अब समय बदलियो । इज्जत, प्रतिष्ठा, मान, सम्मान, साथित्व, अपनत्व सवै रक्सी मै छ जस्तो हुन थालेको छ ।
यो पिउनु नसा मात्रै नभएर हरेक समस्याको समाधान पनि हो भन्न थालिएको छ । त्यसतो नाटक मञ्चन गर्नेहरु आज हरेक घर परिवारमा बढ्दै छन् । चिन्ता यसैको हो । तर, दुर्भाग्य – म भने रक्सी पिउनुको मज्जा नबुझेर भौतारिरहेको छु । अब सिक्नेछु ।
रक्सी खाँदाखाँदै मान्छेले समाज बुझ्छ रे ? भट्टी समाजको ऐना हो रे ? को– कसको साथमा हुन्छ, कसले कसको पछाडि कुरा गर्छ, कसको प्रेम को सँग चलिरहेको छ , यावत सबै कुरा खोलिन्छ एक चुस्कीमा । यो त सत्यवचन बुझेको विश्वविद्यालय जस्तो पो रहेछ ।
केही साथीहरू भन्छन् – तिमी रक्सी खान जान्दैनौ? तिमीलाई त अफिसको पाटीमा किन बोलाउनु । न तिमी हाकिम संग टाँसियौ, न तिमीले बोतल उठायौ – भोलि तिमीलाई अफिसले ‘एभ्री डे डिनर पाटी’ को पनि अफर गर्दैन । यो पिउदा त कार्यालयमा पारिवारिक सम्बन्ध सुदृढीकरण कार्यक्रम पनि हुने भयो । यस्तै कारणहरुले गर्दा लाग्छ अब त नसिकि भएन ।
अब त यो सिद्ध भइसक्यो – रक्सी खानु भनेको सामाजिक, व्यावसायिक, राजनीतिक र सांस्कृतिक योग्यता पनि हो। त्यसैले म निर्णयमा पुगेको छु, अब नसिकेर भएन । मैले त यस्तै प्रेसर क्रेट गर्ने कतिपयलाई बाध्य भएर भनेको पनि छु – साथी बरु मलाई बिष देऊ त्यो खान्छु तर म रक्सी खान सक्दिन ।
यो आत्मकथा केवल रमाइलोका लागि मात्रै
हो । मदिराले ब्यक्तिको स्वास्थ्य खराब गर्छ । सामाजिक मर्यादामा असर पर्छ । मातले विवेक धर्मराउँछ । त्यसैले सबै सजग बन्नु पर्छ भन्ने मेरो आषय हो ।
लेखक – निजामती कर्मचारीपनि हुन ।