सानो छँदा आमाबुबासँगै खेतबारीमा काम गर्दा आकाशमा प्लेन उडेको देखेर पाइलट बन्ने सपना देखेका उनलाई समयले सफल बैङ्कर बनायो । सरल स्वभाव र हँसिलो चेहरा भएका उनी ग्रामीण भेगका विपन्न तथा निमुखालाई बैङ्किङ पहुँचमा ल्याउन पाउँदा अत्यन्त खुसी महसुस हुने बताउँछन् ।
अधिकांश समय बैङ्किङ सेवा लिन आउने विभिन्न किसिमका सेवाग्राहीसँग व्यस्त हुने उनी सरल, सहज र छिटोछरितो बैङ्किङ सेवाको निम्ति सधैँ तल्लीन हुन्छन् । बैङ्कर मात्र होइन उनी नागरिकको आर्थिक जीवनको एक सहयात्री बन्न पाउँदा भाग्यमानी नै ठान्छन् । धेरै युवायुवती पढी–लेखी विदेश पलायन भइरहेको परिप्रेक्षमा उनी भने आफू जन्मेहुर्केकै ठाउँमा केही गर्नुपर्छ भन्ने मान्यताले लागिपरेका छन् ।
नेपाल सरकाले युवायुवतीलाई लक्षित गरी बैक तथा बित्तीय संस्थामार्फत् विभिन्न सहुलियतपूर्ण कर्जा सुविधा ल्याएको भए तापनि उक्त कर्जा सुविधालाई सही तरिकाले उपभोग गरी आफ्नै देशमा केही गर्छु भन्ने युवायुवतीको संख्या एकदमै नगन्ने रहेको उनी बताउँछन् ।
साविकको नारायणपुर गाविस वडा नम्बर ६ र हालको घोराही उपमहानगरपालिका वडा नं ११ खैरामा सामान्य घरपरिवारमा बुबा भीमबहादुर डिसी र आमा भुमादेवी डिसीको कोखबाट जन्मिएका जीवनकुमार डिसी सधैँ खुसी र मुस्कानसहित बैङ्किङ सेवामा समर्पित छन् ।
आफूलाई बैंक म्यानेजर नभइ सेवाग्राहीको सेवक भन्न रुचाउने उनी सकेसम्म सेवा लिन कार्यालयसम्म आइपुगेका सेवाग्राहीलाई कसरी खुसी बनाएर पठाउने भन्नेमा चिन्तित हुन्छन् । उनका खुसीहरू खोज्न जाँदा उनी केही सेवाग्राहीसँग व्यस्त थिए । लाग्थ्यो उनीहरूलाई उनले बैङ्किङ साक्षरता बाँडिरहेका छन् ।
‘मेरो प्रमुख खुसी भनेको ग्रामीण भेगका विपन्न तथा निमुखावर्गको आर्थिक उत्थानका निम्ति एक आर्थिक सल्लाहकारको रूपमा खेल्नसक्ने भूमिका हो’, उनले भने । उनले आफू सधैँ खुसीका साथ सत्कर्म गर्ने गरेको भन्दै आफ्नो पहिलो खुसी कार्यालयमा आउने हरेक नागरिकको मनोभाव बुझेर सहज, सरल रूपमा छिटो र छरितो सेवा प्रदान गर्ने रहेको सुनाए । आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गरेबाफत सेवाग्राहीले खुसी र मुस्कानका साथ दिने धन्यवाद र आशीर्वाद नै जीवनको बहुमूल्य सम्पत्ति, खुसी र आनन्द भएको उनले सुनाए ।
२० वर्षदेखि निरन्तर बैंक तथा वित्तीय क्षेत्रमा सेवा गरिरहेका डिसीले सहरबजार केन्द्रित मात्र नभइ विकट गाउँबस्तीका नागरिकले पनि बैङ्किङ सेवा पाउनुपर्छ भन्ने उद्येश्यले लागि परेको बताए । सिद्ध रत्ननाथ नमुना उच्च माध्यमिक विद्यालय नारायणपुरबाट हाइस्कूल पास गरेका डिसीले महेन्द्र बहुमुखी क्याम्पस घोराही हुँदै व्यवस्थापन विषयमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौंबाट प्रथम श्रेणीमा एमबिएस पास गरेका छन् ।
निरन्तर बग्ने पानीले चट्टानलाई पनि खियाउँछ भन्ने जीवनले दृढइच्छाका साथ निरन्तर मिहिनेत गरेमा असम्भव केही नभएको भन्दै सबैलाई मिहिनेतका साथ निरन्तर आफ्नो काममा लाग्न सुझाव दिन्छन् ।
घोराहीमा बिबिए पढ्दै गरेको अवस्थामा ओरेण्टियल बचत तथा ऋण सहकारी संस्था लि. घोराही शाखाको बजार प्रतिनिधिको रूपमा २०५७ साल असार २८ गतेदेखि काम सुरु गरेका जीवन आज एक सफल बैंकरको रूपमा परिचित छन् । त्यो समय दाङमा कुनै पनि निजी स्तरका बैंक नभएको र सम्पूर्ण दाङबासीलाई नेपाल बैंक लि. राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिले मात्र सीमित शाखा कार्यालयमार्फत् बैङ्किङ सेवा प्रदान गर्ने गरेको हुँदा त्यस समयमा बैङ्किङ सेवा लिन धेरै कठिन रहेको र कर्जा सुविधा विरलैले मात्र पाउने गरेको उनले बताए ।
दाङबासीलाई सरल र सहज तरिकाबाट आधुनिक बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यका साथ मध्यपश्चिमको पहिलो विकास बैंकको रूपमा नेपालगञ्ज केन्द्रीय कार्यालय राखी स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंक लिले दाङ जिल्लामा पहिलो निजी स्तरको बैंकको रूपमा २०६२ साल फागुन ६ गते शाखा स्थापना ग¥यो र सोही बैंकमा नाम निकाल्न सफल भएका डिसी २०६२ साल असार २८ गतेदेखि सिनियर असिस्टेन्ट पदबाट आफ्नो बैङ्किङ यात्रा सुरु गरेका थिए ।
छोटो समयमा बैंक व्यवस्थापन, कार्यालयका अग्रजहरू र आम नागरिकको विश्वास र मन जितेर लोकप्रिय बनेका डिसी १ वर्ष ६ महिनामै सोही बैंकको बागडोर सम्हाल्न लमही शाखा प्रमुख भएर गए । लमही शाखाको १ वर्ष सेवा गरेपश्चात २०६४ सालदेखि ४ वर्ष लगातार तुलसीपुर शाखाको शाखा प्रबन्धक भएर बसे ।
त्यस समय दाङमा निजी क्षेत्रका बैंकहरूले शाखा खोल्ने लहर चलेको र उनी एक अनुभवी बैंकर भएको हुँदा अन्य गनिएका बैंकहरूबाट पनि थुप्रै अवसरहरू पाउन थाले तर पनि संस्था फेर्नु मात्र ठूलो कुरा नभइ काम र जिम्मेवारीलाई इमानदारीका साथ निर्वाह गर्नु ठूलो कुरा सम्झने उनी उक्त बैंकमा ६ वर्ष सेवा गरी २०६८ साल माघ १ गतेदेखि राष्ट्रिय स्तरको विकास बैंक साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमा आबद्ध भए । हालसम्म त्यहै बैंकमा निरन्तर सेवामा समर्पित छन् ।
‘कामको सिलसिलामा कहिले कुन जिल्ला त कहिले कुन जिल्ला पुग्नुपर्छ’, उनले भने’, ‘तर पनि आमाबुबा, श्रीमती, घरपरिवार, अग्रज, आफन्ती, शुभचिन्तक र सेवाग्राही आम नागरिकको साथ, सहयोग र मायाका कारण आफनो काम गर्न पाउँदा अत्यन्त खुसी महसुस गर्दै मिहिनेतका साथ सेवामा लागिरहेको छु । आफ्नो पेशाप्रति गर्व लाग्छ, पछुतो हैन सेवा पनि विभिन्न प्रकारका हुन्छन् यो पनि एउटा सेवा भाव बोकेको ठाँउ हो ।’
उनले आफ्नो सफलता र खुसीको सम्पूर्ण श्रेय आफ्ना आमाबुबा, परिवार, अग्रज र आफ्नो निरन्तर मिहिनेतलाई दिन्छन् । आमाबुबाले पनि आफ्नो सन्तानलाई माया गरेर स्वस्थ र सफल भएको देख्ने मन हुन्छ नै, त्यो स्वाभाविक हो । त्यसैमध्यको म पनि एक हुँ’, उनले भने, ‘आमाबुबा खेतबारीमा काम गर्नुहुन्थ्यो तर मलाई पढ्नुपर्छ छोरा, बसेर पढ भन्नुहुन्थ्यो ।’
मानिसको जीवन सुखदुःखको चक्र भएको बताउने उनको जीवनमा पनि धेरै आरोह अवरोह, सुख–दुःखका पलहरू आएका छन् । २०७२ साल चैत्र १८ गते आफ्नो आमाको मृगौलामा एक्कासी कठिन समस्या देखिएर लामो समयको उपचारको क्रममा आमालाई गाह्रो भयो । काठमाडौं अल्का अस्पतालबाट आमाको सफल उपचारपश्चात घर फर्कँदा जीवनकै अर्को खुसी मिलेकोे उनले बताए । जीवनको परिवारमा आमा, बुबा, पत्नी, बहिनी र एक छोरी गरी जम्मा ६ जना छन् ।
प्रस्तुती ः बालाराम खड्का