२०८१ माघ ३० गते बुधवार

महिला उद्यमशीलता र चुनौती


यशोदा पाण्डेय
राष्ट्रिय अर्थतन्त्रमा महिलाको सहभागिता, महिला सशक्तिकरण, आत्मनिर्भरता, नेतृत्व विकास र आर्थिकस्तर दह्रो बन्नसकेमा महिलामाथि हुने सबैप्रकारका हिंसामा समेत न्यूनीकरण हुनसक्नेछ । दुई–चार पैसा आर्जन गर्न सकेमा आफ्ना सन्तानलाई पौष्टिक आहार, राम्रो शिक्षा दिनका लागि अरुसँग निर्भर हुन नपर्ने भएकाले पनि महिला उद्यमीहरूको संख्या बढाउनु आवश्यक देखिन्छ । आर्थिक रुपमा महिलालाई बलियो पार्नु भनेको घर, समाज र राष्ट्रकै उन्नति गर्नु हो । हाम्रोजस्तो गरिब मुलुकमा महिलालाई आत्मनिर्भर बनाउनु अति आवश्यक छ ।

सर्वप्रथम समाजमा विद्यमान पुरातन पन्थी साेंचलाई परिवर्तन गर्न सक्नुपर्छ । महिलालाई राज्यले सबै किसिमका सूचनाको हक प्रदान गर्नुपर्छ । अनिवार्य शिक्षा, तालिम, एकआपसमा विश्वास र स्वयम् महिलाहरुले पनि आफूलाई परिवर्तन गर्नसके केही काम गर्न असम्भव छैन । कमी आत्मविश्वासको मात्र छ । महिलाले म उद्यम गर्न सक्छु भन्ने भावनाका साथ अगाडि बढ्न सक्नु आवश्यक छ ।

राज्यले तर्जुमा गरेका केही प्रक्रियाहरु अवश्य झन्झटिला छन् । पर्याप्त बजेट छैन । नीतिगत व्यवस्थाले वास्तविक रुपमा लक्षित महिलाहरुलाई सम्बोधन गर्न नसक्नु, लैंगिक भेदभाव, ग्यारेन्टी पेपरमा अभिभावकको सही चाहिनेजस्ता कारणले पनि उद्योगमा अगाडि बढ्न महिलाहरु हिचकिचाउँछन् । राजनीतिक हस्तक्षेप, ज्ञान र सीपको कमी, आर्थिक क्षेत्रमा महिलाको पूर्ण स्वामित्व नहुनु, नेतृत्वमा कमी, महिलाहरूले जोखिम बहन गर्न नखोज्नु, प्राविधिक ज्ञानको कमी, बजार व्यवस्थापन गर्न नसक्नु, हौसलावद्र्धक वातावरण, महिला–महिलाबीच ऐक्यवद्धता नहुनुका कारणले महिलाहरु उद्योग व्यवसायमा अघि बढ्न सकिरहेका छैनन् ।

महिलाले म उद्यम गर्न सक्छु भन्ने भावनाका साथ अगाडि बढ्न सक्नु आवश्यक छ । राज्यले तर्जुमा गरेका केही प्रक्रियाहरु अवश्य झन्झटिला छन् । पर्याप्त बजेट छैन । नीतिगत व्यवस्थाले वास्तविक रुपमा लक्षित महिलाहरुलाई सम्बोधन गर्न नसक्नु, लैंगिक भेदभाव, ग्यारेन्टी पेपरमा अभिभावकको सही चाहिनेजस्ता कारणले पनि उद्योगमा अगाडि बढ्न महिलाहरु हिचकिचाउँछन् ।


सरकारले महिलाहरुलाई सशक्तिकरण गर्न आर्थिक कोष बढाउनुपर्छ । नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता हुनु आवश्यक छ । राज्यले महिलालाई दिने औद्योगिक ऋणको छुट्टै व्यवस्था, न्यूनतम ब्याजदर, समय अनुसारको तालिम जरुरी छ । साथै पारिवारिक सहयोग हुनसकेमा महिला उद्यमीको संख्या बढ्ने कुरामा विश्वस्त हुन सकिन्छ । नेपालको सन्दर्भमा ग्रामीणस्तरमा चार प्रकारका व्यवसाय रहेका छन् । तिनीहरु यसप्रकार छन्–

क) उत्पादनः बिक्रीका लागि वस्तुहरूको उत्पादन, जस्तैः अकबरे खुर्सानी, अलैंची, अम्लिसो, अदुवा, फलफूल तथा तरकारी उत्पादन, ऊन प्रशोधन, ढाका कपडा उत्पादन, सिस्नु खेती र प्रशोधन ।
ख) प्रशोधनः कच्चापदार्थहरू प्रशोधन गरी उपभोग्य वस्तुमा परिणत गर्ने, जस्तैः फलफूलहरू प्रशोधन गरी जाम बनाउने, जुस बनाउने, अकबरे खुर्सानी प्रशोधन गरी अचार बनाउने, ढाकाका विभिन्न तयारी पोसाक, ब्याग तथा खेलौना निर्माण गर्ने ।
ग) व्यापारः उत्पादित वस्तुहरुको खरिद तथा बिक्री, जस्तैः पसल तथा बजार, ढाकाको थोक तथा खुद्रा बिक्री ।
घ) सेवाः व्यापारको प्रमुख उद्देश्य भनेको नागरिकलाई सेवा दिनु हो, जस्तैः कपाल काट्ने ठाउँ, यातायातका साधन, होटेल ।
त्यसैले लघु उद्यमीले व्यवसायलाई सफल बनाउन योजना निर्माण र कार्यान्वयन चरणमा विशेष ध्यान पु¥याउनु पर्दछ ।
क) योजनाको चरणः यसअन्तर्गत बजार निरीक्षण तथा बजारको सूचना लिने या उपलब्ध गराउने, प्राविधिक सीप विकास तालिम लिन सम्बन्धित संघसंस्थासँग समन्वय तथा सहकार्य गर्ने, व्यवसायिक योजना राम्रो बनाउनका लागि तयारीका विभिन्न चरणहरु (उत्पादनदेखि बजारीकरण) मा तालिम तथा अन्य सहयोग लिने, बचत लगानी गर्न तथा विभिन्न कार्यक्रम, आयोजनाबाट ऋण उपलब्ध गराउन अनुरोध या प्रेरित गर्ने पक्षहरु पर्दछन् ।
ख) कार्यान्वयन चरणः यसअन्तर्गत बजारसँग सम्बन्ध विस्तार गरी समय–समयमा सूचना संलग्न गर्ने, प्राविधिक सहयोगका लागि सम्बन्धित निकायहरुसँग सम्बन्ध विस्तार गर्ने, लेखा र अभिलेख व्यवस्थापन गर्ने, आफ्ना दुर्वल पक्षहरु, बचत लगानीसँग सम्बन्धित क्षेत्रमा ज्ञान सीप अभिवृद्धि गर्ने, आवश्यक कामदारको खोजी र तालिम, उत्पादनलाई राम्रो बनाउन आवश्यक प्रविधि र सीपमूलक ज्ञान अभिवृद्धि गर्ने, कच्चापदार्थ वा स्वयंबाट उत्पादित सामाग्रीको गुणवत्ता वा स्तरीयता मापन, बजारीकरण, जनसम्पर्क र समग्र व्यवस्थापन गर्नेजस्ता पक्षहरु पर्दछन् ।
महिलाका उद्यमशीलताका क्षेत्रमा देखिएका चुनौतीहरू विभिन्न प्रकारका छन् । तिनीहरू यस प्रकार रहेका छन्ः

क. आर्थिक समस्या
कुनै पनि व्यापार व्यवसाय गर्न आर्थिक समस्या सबभन्दा अगाडि आउँछ । तापनि व्यापक व्यापार व्यवसाय सुरु गर्नका महिलाहरूले आर्थिक व्यवस्थापन गर्नका लागि निकै चुनौतीको सामना गर्नुपर्छ । महिलाहरूले बलियो आर्थिक आम्दानी नभएका कारणले धन सम्पत्ति अर्थात् पैसा जोगाउन सक्दैनन् जसले गर्दा उनीहरूसँग ठुलो पुँजीको अभाव आफ्ना स्रोत व्यक्तिसँग भर पर्नुपर्ने हुन्छ । नेपालका अधिकांश महिलाले यही आर्थिक समस्या भएकै कारणले आफू निर्भर रहने गरी व्यापार व्यवसाय गर्न सकेका छैनन् ।

ख. कच्चा पदार्थको अभाव
व्यापार(व्यवसाय गर्न वा लघु उद्यम गर्नका लागी वस्तुको आवश्यकता पर्दछ। महिलाहरूले थालेका उद्योग तथा उत्पादनमूलक क्षेत्रमा चाहिने कच्चापदार्थको पर्याप्तता भएको पाइँदैन । कच्चा पदार्थको अभावमा कतिपय महिलाहरूले लगानी रकम भए पनि राम्रोसँग आफ्नो व्यापार व्यवसाय अथवा उद्योगधन्दा चलाउन सकेका छैनन् । स्थानीय तथा विदेशी स्रोतका कच्चापदार्थहरू आयात गर्नका लागि महिलाहरूले निकै ठुलो चुनौतीको सामना गर्नुपरेको देखिन्छ । यसमा सरकारले अथवा स्थानीय तहले पनि सहयोग गर्ने हो भने महिलाहरू उद्यमशील हुन पाउँछन् र परिवारमा पर्ने आर्थिक समस्याको भारबाट सहज अवतरण प्राप्त गर्दछन् ।

ग. तीव्र प्रतिस्पर्धा
उद्यमशीलता लागेका महिलाहरूको अर्को चुनौती तीव्र प्रतिस्पर्धा हो । नेपाली महिलाहरूले स्थानीय श्रोत र साधनबाट उत्पादन भएका सामग्रीहरू बेचबिखन गर्नुपर्ने हुन्छ तर ठूलाठूला कम्पनीहरूसँग बजारमा प्रतिस्पर्धा गर्नुपर्दा ती महिलाहरूले निकै ठुलो समस्या जेलमा परेको हुन्छ । नेपालमा पर्याप्त उद्योगधन्दा नहुनु र कच्चा पदार्थको अभावले महिलाहरूले बल्लतल्ल सुरुवात गरेको लघु उद्यम कार्यक्रम पनि प्रभावित भएको पाइन्छ जसलेगर्दा तालिम लिएर पनि अथवा हातमा सिप भएर पनि सिपको प्रयोग गर्न नसकेको अवस्था छ यसको कारण भन्नु तीव्र प्रतिस्पर्धा नै हो । स्थानीय क्षेत्रमा उत्पादित हस्तकला जस्ता क्षेत्रका वस्तुलाई दिने सरकारको नीति हुने हो भने महिलाहरू उद्यमशील हुने मौका पाउँदछन्।

घ. बजारीकरणको समस्या
महिला उद्यमीहरूले उद्यमशीलताका क्षेत्रमा भोग्नुपरेको समस्या बजारीकरण को समस्या हो । संसारभरका बजारीकरणमा पुरुषको प्रभुत्व रहने र महिलाहरू त्यसक्षेत्रमा निकै पछि परेका कारणले गर्दा महिलाहरूले उत्पादन गरेका वस्तुहरूले बजारमा ठाउँ नपाएको देखिन्छ ।

ङ. जोखिम सहने क्षमता कम हुनु
महिला उद्यमीहरूले बोकेको अर्को चुनौती जोखिम सहने क्षमता कम हुनु हो । सामान्यतया महिलाहरूमा ठुलो लगानीबाट सुरु गरेको लघु व्यवसाय वा मिलनको उद्यमले सफलता प्राप्त गर्ने बोकी होइन भन्ने आशङ्का रहेको हुन्छ । यसलेगर्दा उनीहरूको ठुलो लगानी गरेर चुनौती बोक्न चाहदैनन यसले गर्दा क्षमता भएर पनि खुम्चिएर बस्नुपर्ने हुन्छ । कतिपय महिला उद्यमीका घरपरिवारका व्यक्तिले आर्थिक वा प्राविधिक साथ सहयोग नदिँदा पनि उनीहरूमा जोखिम सहने क्षमता कम भएको हुन्छ । सरकारले यसलाई जोखिमको न्यूनीकरण गर्ने उपाय अपनाउने हो भने महिला उद्यमीहरू अगाडि बढ्न सक्छन् ।

अध्यक्ष
महिला उद्यमी संघ नेपाल
तुलसीपुर दाङ

 

 

 

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस
  1. Ganesh says:

    Dherai ramro bichar hajur

Leave a Reply

Your email address will not be published. Required fields are marked *