२०८३ बैशाख ११ गते शुक्रवार

नेकपा फूट्छ भनेर चिन्ता वा खुसी मान्नु बेकार हो

कोष्ठ भित्रको नेकपा अहिले फूटको संघारमा पुगेको छ । जति नै छिपाउन खोजेपनि अब त्यो लुक्ने वाला छैन ।सार्वजनिक चिया चौतारोमा आज त्यसैको गफ भइरहेको छ । नेकपाकै कतिपय नेताका भनाई अनुसार पनि अब पार्टी विभाजनको घोषणा हुन मात्रै बाँकी छ भनिरहेका छन् ।

त्यसैका आधारमा पनि सर्वसाधारणले धारणा बनाइ रहेका छन् । यस्तो तालले नेकपा चल्नु र देशलाई बन्धक बनाउनु भन्दा पार्टी विभाजन भएकै बेश हो । यो कुरा आज नेकपाकै नेता कार्यकर्ता निधक्क भनिरहेका छन् ।यसले नेकपा भित्रै एकताको रसायन नमिलेको विश्लेशनहरु हुन थालेको पनि छ । त्यो एकता के का लागि र कुन आधारमा भएको थियो रु त्यसको भविस्यमा थप लेखाजोखा हुँदै जाला ।

तर, धेरैका बुझाइमा त्यो एकता सत्ता स्वार्थको लागि मात्रै थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले भन्दै आएको यही हो । विचार सिधान्त फरक भएका दूई कम्यूनिष्ट पार्टी बीचको एकताको धरातल कमोजर जगमा उभिएको हुँदा आज त्यो ढुलमुल ढुलमुल गरिरहेको अवस्थामा पुगेको हो । स्वार्थका दूई प्लेटहरु आपसमा टकराउँदा नेकपा भित्र भूईचालोको त्रासदी छाएको हो ।

जसरी सत्तास्वार्थका लागि एकता भएको थियो त्यसैगरी नाटकिय रुपमा यी दूई पूर्व नेकपा एमाले र पूर्व माओवादी फेरि विभाजन भए भनेपनि कसैले आश्चर्य मान्नुपर्ने अवस्था भने छैन । किनकी, उनीहरुका बीचमा न कुनै शैद्धान्तिक आधार र रुपान्तरणको लागि एकता भएको थियो । न त उनीहरुको लाईन र सिद्धान्त नै ठ्याक्क मिल्थ्यो । त्यो जवर जस्त मिलाइएको जो थियो । गहुँको पिठोमा अरहर मिलाए जस्तो ।

त्यो मिलन राज्य सत्ताको उपभोगका लागि थियो । नत्र आमुल परिवर्तनका लागि भनेर त्यत्तो दश बर्षे सशस्त्र जनयुद्ध गरेको पूर्व माओवादी कुनैदिन घाँस भित्र लुकेको हरियो सर्प ठान्ने नेकपा संग किन मिल्थ्यो र ? अमिल्दो नेकपामा गएर किन पोखल मिसाउँथ्यो र रु खैर यो कुरा यही छोडौं ।

जे जसरी भएपनि उनीहरुले एकता त गरे, तर त्यो एकताको जग क्षणिक स्वार्थबाट प्रेरित रहेछ, धरातल कमजोर रहेछ अनि त्यो एकता देश र जनताको हितमा रहने छ भन्ने कुरा आज छरप्रष्ट भइसकेको छ । तैपनि एउटा कुरा अझैं हेक्का राख्न जरुरी छ । यीनिहरु आफ्नो स्वार्थ मिलेसम्म अझैं फुटेर जाने छनक छैन । आफ्नो स्वार्थमा अलिकतिपनि तलमाथि हुनासाथ भने उनीहरु जतिबेला पनि हल्लाहरुको डम्फू बजाउन उनीहरु तयार हुने छन् ।

आफ्नो नीजि स्वार्थमा ठेस लाग्न आट्यो भने एकअर्कालाई धम्की दिएर बार्गेनिङ गरिरहने छन् । यो सबै देखेर राजनीतिप्रति सर्वसाधारणको अरुची बढ्ने छ । थप वितृष्णा पैदा हुने छ । त्यसले अर्कौ पक्षलाई फाइदा हुने खतरा रहन्छ ।

क्षमतावान नेतालाई पञ्छाएर आफ्ना आफन्तलाई मन्त्री र विभिन्न पदमा विराजमान गराउन, भागबन्डा लगाएर देशलाई लुट्न पाएसम्म एकता भाँडिदैन । देश र जनता भाँडमै जाए । देश बर्बादीको दिशातर्फ धकेलिरहेका उनीहरुको यो लडाई पार्टी वा शिद्धान्तका लागि हुँदै होइन । देश बनेर भनेर जनताले दुःख पाए वा हक अधिकार पाएनन् भनेर पनि यो झगडा हुँदै हैन ।

उनीहरु आफ्ना स्वार्थको रोटी नपाकेपछि भने जतिबेला र जसरी पनि पार्टी फुटाउन तल्लिन हुने छन् । त्यसका लागि उनीहरुलाई कुनै आइतबारको जरुरत हुने छैन । उनीहरुलाई न नागरिकको चिन्ता छ, न आफू मरेर बचाउने कार्यकर्ता कै चिन्ता छ । छ त केबल आफ्नो स्वार्थको मात्रै कुरा छ ।

पहिले माओकी श्रीमतीको बिषयमा बहस गरेर नेपालमा कम्युनिष्ट पार्टी फुटाउने चलन जो थियो । लेनिन उत्तरबाट दक्षिण मार्च पास गर्थे कि, दक्षिणबाट उत्तर भन्ने सवालमा समेत नेपालका कम्यूनिष्ट भनाउँदा पार्टीहरु विभाजन भएको इतिहास छ । नेपालमा कम्यूनिष्टहरुका बीचमा माओबाद कि माओ बिचार रु भन्नेमा पनि पानी बाराबारको अवस्था उत्पन्न भएकै हो । त्यो सायद संझाई रहनु पर्दैन होला । रसियन कम्युनिष्ट कि चाइनिज कम्युनिष्ट रु भन्ने जस्ता सवालहरुमा निहु खोजेर बाझाबाझ गर्नु त उनीहरुको चरित्र नै हो ।

यस्तै दृष्टान्तहरु भएकाले कम्युनिष्ट पार्र्टीमा बहस र असन्तुष्टी देखिने बित्तिकै पार्टी फुट्ने भो भनेर ब्यापक चर्चा हुने गर्छ । नेपाली कांग्रेसमा चाँही छुट्टाछुट्टै बैठक बसेपनि, महिनौ बैठक बहिस्कार गरेपनि पार्टी फुटाउने हल्लाहरु हुँदैनन् । त्यही भएर कम्यूनिष्टमा नेताहरुको बीचमा आपसी स्वार्थ बाझ्दा र बिबाद देखिने बित्तिकै पार्टी फुट्छ कि रु भनेर केही राजनीतिक बृत्तमा चर्चा हुने गर्छ । छोरी कुटेर बुहारी तर्साउने खेल कम्युनिष्टमा चलिरहन्छ ।

यति भन्दै गर्दा पार्टी कुनै एक व्यक्ति विशेषको चाहनाले फुट्नु हुँदैन भन्ने मेरो जस्तै धेरै पाठकको पनि मान्नेता होला । किनकी फूट्ने धरातल तयार नहुँदै पार्टी फूट्नु हुन्न । त्यो एक प्रकारले क्षति पनि हो । हुन त कम्युनिष्टहरु नयाँ बनाउन पुरानो भत्काउनै पर्छ भन्ने मान्नेता राख्छन् । निरन्तरतामा क्रम भंग भन्ने शब्द प्रचण्ड स्वएंले जो चल्तिमा ल्याएका हुन । एक्लै मिठो मिठो खान्छु भन्ने सोच्नेहरुले अंश लिएर बाउसंग छुट्टीनु भन्दा पहिले आफु छुट्टै बस्ने घर बनाउन सक्नु पर्छ । आफु राम्रै घर बनाएर बस्छु, भन्ने आँट नभएसम्म, त्यस्तो सम्भावना नभएसम्म सडक छाप हुन बाउसंग जति झगडा गरेपनि अँश लिएर छुट्टिने आँट कुनै छोरोले गर्दैन । बरु चुमुर्किएर बाउसंगै बस्नु वेश हुन्छ ।

पार्टी फुट्छ भन्नेहरुले कुन राजनीतिक आधार र धरातलमा भनेका हुन म जान्दिन । जसले जतिसुकै पाखुरा सुर्किएपनि मैले चाहिँ पार्टी फुट्ने कुनै आधार र बाटो देख्दिन । त्यो संभावना छैन पनि ।यहाँ केबल एकले अर्कौलाई गलाउने अभ्यास मात्रै भइरहेको छ । त्यो कुरा ऊ गल्नु पर्छ र पार्टीमा मेरो हिस्सा कायम हुनुपर्छ भन्नेलाई झन धेरै थाहा हुनुपर्छ । कसैको कमजोरी देखाउन खोज्नेको झन धेरै कमजोरी छताछुल्ल हुनु स्वाभाविक नै हो ।

त्यसैले नेकपा भित्र को गल्ते रु केपी कि प्रचण्ड रु यो झगडा आफु स्थापित हुने खेल मात्रै हो । यस्तै पाराले यो झगडा कायमै रहेपनि पार्टी फूटन्े छाँट रहँदैन ।यत्ति हो कसैको स्वार्थले देश र जनताले दुःख पाउनु हुन्न । त्यो देशको विकाशको बाधक बन्नु हुन्न ।कसैलाई प्रमको संबैधानिक शक्तिको भागवन्डा चाहिएको छ, कसैलाई बिना प्रतिस्पर्धा सम्झौतामा भविष्य सुनिश्चित गर्न सकिन्छ कि भनेर निहुँ खोज्नु छ ।
यी कुनै कुरा हुन सक्ने कुनै सम्भावना छैन । न त पार्टी फुटाएर हिड्न सक्ने तागत कसैसंग छ ।

प्रचण्डमा पनि त्यो तागत छैन । हिजो पो जनताका छोरा छोरीलाई गुम्ह्रामा पारेर युद्ध लडे । अब उनी छुट्टिएर आएपनि त्यसैगरी जनताले विश्वास गर्ने आधार छँदै छैन भनेपनि हुन्छ । त्यसैले सबैभन्दा बढी छटपटि प्रचण्डलाई भएको हुनुपर्छ । सायद उनलाई आज चोक्टा खान गएकी बुढी झोलमा डुवेर मरी भनेझै भएको होला ।

अर्कौ तर्फ संस्थापनले पार्टी फुटाउने भन्ने त दुनियामै नभएको कुरा हो । सिद्धान्तः पनि आवश्यक नभएको कुरा कसले गर्छ र रु त्यसैले जति बाँसुरी फुकेपनि, जति ढोल बजाएपनि, जति सनाई फुकेपनि पार्टी फुट्दैन । पार्टी फूट्छ भनेर चिन्ता वा खुशी मान्नु बेकार हो ।

– लेखक नेपाली जनप्रगतीशिल मोर्चा कतारका बरिष्ठ उपाध्यक्ष हुन ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *