दाङ, पुस २८ । बैतडीमा जीप दुर्घटनाका घाइते मध्य थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते मध्य डडेल्धुराको सिगास गाउँपालिका – १ की २७ बर्षीया बशन्ती ऐरको उपचारका क्रममा जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।
यसअघि घटनास्थलमै सिगास – १ का २५ निशान्त बोहरा , सोही वडाका २८ बर्षीय भानदेब भट्ट र आलिताल गाउँपालिका – ३ का १३ बर्षीय राकेश रावतको घटनास्थलमै मृत्यु भएको थियो ।
बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार राईले दुर्गघटनाका दुई गम्भीर घाइते सिगास गाउँपालिका – १ की १९ बर्षीया बिमला ऐर, सोही वडाकी २५ बर्षीया लालमणी बोहरालाई थप उपचारका लागि कैलालीको धनगढी रिफर गरिएको बताए ।
दुर्घटनाका थप तीन घाइते मध्य सिगास – १ की ४ बर्षीया प्रन्सा ऐर, सिगास – १ दुधिलाखानका २८ बर्षीय चालक गणेश बिष्ट, आलिताल गाउँपालिका – ३ का ३२ बर्षीय बिरेन्द्र बोहरा र बैतडीको पाटन नगरपालिका – ८ की २५ बर्षीया कमला बिष्टको भने डडेल्धुरामै उपचार भइ रहेको प्रहरी जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले बताए ।
सोमबार बिहान साढे १० बजेतिर जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा मोतीनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ सडक बाट अन्दाजी साढे दुई मिटर तल खसेको थियो ।
दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।