तुलसीपुर, पुस २७ । दाङको घोराहीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन । तुलसीपुर – घोराही सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा दिउँसो भएको बस दुर्घटनामा परि आठ जना यात्रु घाइते भएका हुन ।
घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस दिउँसो साढे १२ बजेतिर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बमले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताए ।
घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार जारी छ ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार