दाङ, पुस १६ । जाजरकोटको बारेकोट गाउँपालिका – ८ मिरीकोट खारा जंगलमा स्थानीय ३६ बर्षीय प्रचण्डदेव सिंहको शब पुस १४ गते बिहान फेला पर्छ ।
स्थानीयको सूचनाको आधारमा पुगेको प्रहरीले उनको मृत्यु संकाष्पद देखेपछि अनुसन्धान अगाडि बढाउँछ ।
अनुसन्धानका क्रममा सिंहको मृत्युको कारण बन्दुकको गोली लागेर भएको तथ्य फेला पार्छ ।
जाजरकोटका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार शिकार खेल्न जंगलमा हिडिरहेको समयमा संगै हिडिरहेका ब्यक्तिहरुले बोकेको लोडेड भरुवा बन्दुक रुखको हाँगामा लागेपछि भुइमा झर्दा बन्दुक पड्किन गइ सिंहलाई लागेपछि उनको घटनास्थलमै मृत्यु भएको तथ्य अनुसन्धान बाट खुल्छ ।
संगै शिकार खेल्न भनेर गएकाहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान गर्ने क्रममा प्रहरीले यो तथ्य पत्ता लगाएको थियो । मृतक सिंह संगै शिकार खेल्न गएका स्थानीय ४५ बर्षीय इन्द्रबहादुर सिंह, ५४ बर्षीय मिमबहादुर सिंह, २४ बर्षीय राजिव शाही, ४४ बर्षीय जनक कार्की र ३१ बर्षीय लालबहादुर सिंहलाई पक्राउ गरि अनुसन्धान गर्ने क्रममा प्रहरीले त्यो कुराको तथ्य पत्ता लगाएको थियो ।
प्रहरी निरीक्षक खड्काका अनुसार सिंहको गोली लागेर मृत्यु भइ सकेपछि संगै शिकार खेल्न गएका सबैले आपसमा सल्लाह गरि जंगलमै आँफुले लगेर गएका बन्दुकहरु लुकाइ छिपाइ राखेका थिए ।
प्रहरीले जंगलमा लुकाएर राखेका तीन नाल भरुवा बन्दुक, बन्दुकमा लाग्ने २१ वटा गोली (फलामका टुक्रा), एक सय ३५ ग्राम बढी बारुद, ११ वटा केब र दुई वटा चक्कुपनि बरामद गरेको प्रहरी निरीक्षक खड्काले बताए ।
पक्राउ परेका पाँचै जना बिरुद्ध कर्तब्य ज्यान र हातहतियार तथा खरखजना सम्बन्धि मुद्दा चलाउने तयारी प्रहरीको छ । जिल्ला अदालत जाजरकोटले बुधबार उनीहरुलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ ।