तुलसीपुर , पुस ९ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल माथि लगाइएको आरोप निराधार रहेको विश्व विद्यालय प्रशासनले जनाएको छ ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशीले बिज्ञप्ति मार्फत अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) का नाममा पुस ६ गते जारी गरिएको विज्ञप्ती मार्फत विश्वविद्यालयका उपकुलपति प्रा.डा. नेपाल र कुलसचिव माधवप्रसाद अधिकारीमाथि लगाइएका आरोप नितान्त कपोलकल्पित, प्रमाणहीन र निराधार भएको उल्लेख गरेका छन् ।
घटना पछि नेकपा (बहुमत) अखिल(क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत घटनाको जिम्मा लिएका थिए ।
निवासमै पुगेर उपकुलपति नेपालसहितका पदाधिकारी माथि कालो मोसो दल्ने तथा कुटपिट गर्ने जस्ता दुब्यर्बबहारहरु भएका थिए । यसअघि बोहराले उपकुलपति नेपाल नेपालमाथि विभिन्न ८ बुँदामा दोषारोपन गरेका थिए ।
बुँदा नम्बर १ मा विश्वविद्यालयबाट भ्रष्टाचारका अभियोग लागेका रजिष्टार माधव अधिकारीबाट उपकुलपति नेपालले मोटो रकम असुली पुनः रजिष्टारमा सिफारिस गरेको उल्लेख थियो ।
तर, त्यो आरोपको खण्डन गर्दै विश्वविद्यालयका शिक्षाध्यक्ष जोशीले त्यो निराधार तथा कपोकल्पित भएको दाबी गरेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयले सबै समस्याको समाधान वार्ता, संवाद र सहमतिबाट सम्भव हुने विश्वास व्यक्त गर्दै शैक्षिक संस्थाको गरिमा, मूल्य र मर्यादा कायम राख्न सबै पक्षलाई संयम र जिम्मेवारीका साथ अघि बढ्न आग्रह पनि गरेको छ ।

