दाङ, कात्तिक ३० । प्यूठानमा जिप दुर्घटना हुँदा १७ महिनाकी बालिकाको मृत्यु भएको छ । थप नौं जना घाइते छन् ।
जिल्लाको मल्लरानी गाउँपालिका – २ की २८ बर्षीया राधिका सुनारकी १७ महिनाकी छोरी प्रतिमा सुनारको मृत्यु भएको छ ।
आमा राधिकाको अवस्था मध्यम छ ।
दुर्घटनाका घाइते तीन जनाको अवस्था गम्भीर रहेको जिल्लाका प्रहरी निरीक्षक हरि भट्टराइ बताए ।
प्यूठान नगरपालिका – ९ की २८ बर्षीया सृजना घर्ती, सोही ठाउँकी ४१ बर्षीया कल्पना सुनार र झिमरुक गाउँपालिका – ६ की ३९ बर्षीया आसुमाया चुदाराको अवस्था गम्भीर छ ।
सृजना घर्तीका १७ महिनाका छोरा अनिरुद्रको अवस्था मध्यम छ । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो सवा १२ बजेतिर स्यालादेखि खलंगा तर्फ जाँदै गरेको ग १ ज ७८१४ नम्बरको यात्रु बहाक जिप मल्लरानी गाउँपालिका – ४ टोप्रेस्थित सडक खण्डबाट झन्डै ३० मिटर तल खसेको थियो ।
जिपमा चालकसहित दश जना सवार थिए । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
