तुलसीपुर , कात्तिक २४ । घोराही –तुलसीपुर सडक स्तरोन्नति कार्य निकट भविश्यमै सुरु हुने भएको छ ।
लागत अनुमान भ्याट बाहेक २ अर्व ८८ करोड ८२ लाख ३९ हजार सात सय ८० रुपैयाँ रहेकोमा सम्झौता रकम (भ्याट बाहेक) २ अर्ब २४ करोड ५६ लाख १७ हजार १३४ रहेको छ ।
सो रकमबाट घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हात्तीखौवा चोकसम्म २१ दशमलब ५८ किमी सडक खण्ड स्तरोन्नतिको कार्य हुने छ । यो सडक स्तरउन्नतिको ठेक्का सम्झौता अवधि ३६ महिनाको रहेको छ।
सडक खण्डमा कालोपत्रेको चौडाई चार लेनको बीचमा मेडिएन र दुबैतर्फ २ / २ लेनको सडक हुनेछ । सडक खण्डमा निर्माण कार्यले ओगट्ने क्षेत्र ३० मिटरको हुनेछ । सडक स्तरोन्नतिको कालोपत्रे बिएमडब्यू असपाल्ट प्रविधिको हुनेछ ।
हाल सम्पूर्ण कागजी कामहरु जस्तै ज्वाइन्ट सर्भे, इन्भेन्टरी सर्भे सम्पन्न भएको र निर्माण व्यवसायीबाट निर्माण कार्य सुरु गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरूको तयारी करिब सम्पन्न भएको डिभिजन सडक कार्यालय दाङका प्रमुख ई. दिपेन्द्रबहादुर बिष्टले बताएका छन् ।
अब छिट्टै भौतिक रुपमै निर्माणको कार्य सुरु हुने अपेक्षा गरिएको छ । पुलहरुको पहुँच सडकको कार्य पुल निर्माण कम्पनीबाटै हुने भएकोले चार लेन सडक स्तरोन्नति कार्य गर्दा पहुँच सडकको स्तरोन्नति भने गरिने छैन।
घोराही–तुलसीपुर सडक खण्डमा पर्ने सेवार खोला पुल, हापुर खोला पुल, ग्वारखोलामा अर्कौ थप गर्ने पुल र काला (रानिघाट) खोला पुल चार लेनको निर्माण गर्नको लागि सडक विभाग, पुल महाशाखाबाट बिगतमै सम्झौता भइ सकेका थिए । ती पुल निर्माणको काम म्याद सकिदा सम्म अधिकाँसमा सुरु नै भएको छैन ।
यि पुलेका काम गराउने निमाय सेक्टर नेपालगञ्ज हो ।
यसअघि सडक सुधार आयोजना अन्तर्गत लमही–घोराही हुँदै तुलसीपुरसम्म सडक स्तरोन्नतिको लागि ठेक्कापट्टा व्यवस्थापन भइ सकेको थियो ।
केही निर्माणका कार्यहरू पनि नभएका होइनन् । तत्कालीन निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलाई गरेको र सम्झौताका शर्तहरू उलंघन गरेका कारण आयोजनाबाट ठेक्का सम्झौता तोडिएको थियो।
भारको एक्जिम बैंकको सहयोगमा सञ्चालित सडक स्तरोन्नतिको कार्य पुनः गर्ने र नगर्ने विषयमा करिब चार वर्ष अनिर्णित अवस्थामा रहेको थियो । अधुरो निर्माण कार्यका कारण सवारी दुर्घटनाहरू बढी रहेका थिए ।
जस्ले गर्दा स्तरोन्नति कार्य गर्नु जरुरी थियो । सोही सोचका साथ घोराही–तुलसीपुर सडक खण्डलाई नेपाल सरकारको स्रोतबाटै स्तरउन्नति गर्नको लागि २०८१ साउनदेखि प्रक्रिया सुरु भएको थियो ।
विभिन्न प्रक्रियाहरू पूरा गरी २०८१ / ०८ / ११ गते अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति २०८१ / ०८/ १६ गतेको निर्णय अनुसार ३ करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति प्राप्त भएको थियो।
त्यसपछि ‘मदन भण्डारी राजमार्ग निर्देशनालय’ बाट लागत अनुमानका सम्पूर्ण कार्यहरू गरी २०८१/११/०१ मा बोलपत्र आह्वानको सूचना प्रकाशन भएको थियो।
२०८१/१२/१० मा बोलपत्रहरूको प्राविधिक प्रस्ताव खोलिएकोमा प्रस्तावहरूको मूल्याङकन गरी २०८२/०३/०२ मा बोलपत्रको आर्थिक प्रस्ताव खोलिएको थियो ।
बोलपत्रहरुको मूल्याङकन सम्पन्न गरी २०८२/०३/२४ मा सडक विभाग, मदन भण्डारी राजमार्ग निर्देशनालय र निर्माण व्यवसायी दिवा/बन्दन भगवति जेभी वानेश्वर–१०, काठमाडौंबीच खरिद सम्झौता भएको थियो ।
घोराही – तुलसीपुर सडक योजनाको कार्यान्वयन सडक डिभिजन दाङबाट भइरहेको छ ।
