
तुलसीपुर, साउन १९ । द्धन्दकालमा तत्कालिन नेकपा (माओबादी)ले बम प्रहार गरि प्वाँल पारेको मसोट खोलाको पुलको एउटा पिलर चर्किदै गएपछि मर्मत थालिएको छ ।
लमही–घोराही सडकखण्डअन्तर्गत पर्ने मसोट खोला पुलको तीन दिन अगाडि बाट आवश्यक मर्मतको काम सुरु भएको हो । सडक डिभिजन कार्यालय दाङका प्रमुख सि.डि.ई दीपेन्द्रबहादुर बिष्टले तत्कालिन बिद्रोही माओबादीका कार्यकर्ताले बम प्रहार गर्दा पुलको भागमा एउटा प्वाँल परेको छ ।
यसअघि मसोट खोला पुलमा २०६६/०६७ मा पनि सडक बिभागले मर्मत गरिएको थियो । पुलमा बम प्रहार पछि तत्कालिन समयमा प्वाँल परेको भागलाई टालेर एक छेउमा रेलिङ राखिएको थियो ।
मसोट खोलाको यो पुल तीन पाटे पुल हो । सात मिटर चौडा र ६० मिटर लम्बाइको पुलमा २० / २० मिटरका तीन वटा स्पानहरु रहेका छन् ।
पछिल्लो समय सोही पुलको बाँया तर्फको एउटा पिलर चर्किदै गएपछि जोखिम बढेको थियो । त्यही भएर जिर्ण अवस्थाको पुल आकस्मिक रुपमा मर्मत कार्य गर्न थालिएको प्रमुख बिष्टले बताए । नयाँ पीलर निर्माण नगरी प्रबिधिको प्रयोग गरि चर्किएको भाग टाल्न थालिएको छ ।
‘ तीन दिन अगाडिदेखि पुल मर्मतको कार्य भइ रहेको छ,’ प्रमुख बिष्टले भने ‘ प्रबिधिको प्रयोग गरि कार्बन फाइबरको प्रयोग गरि इन्जेक्सन गरिने छ ।’
अन्तिम चरणको मर्मत पछि केही दिन पुलमाथि गाडी गुड्न पूर्ण रुपमा प्रतिबन्ध लगाइने भएको छ ।
अन्तिम चरणको काम पछि साउन २१ गतेदेखि २४ गतेसम्म घोराही – लमही सडक खण्ड पूर्ण रुपमा बन्द गरिने भएको छ ।
लमहीबाट घोराही आउने यो नै प्रमुख मार्ग हो । जिल्लाको प्रमुख सडक सञ्जालमा पर्ने मसोट खोला पुल मर्मत गर्नुपर्ने अवस्था आएपछि सडकको आग्रहमा जिल्ला प्रशासन कार्यालय दाङमा सर्वपक्षीय बैठक बसेको थियो ।
सोही बैठकले मर्मत अवधिभर विशेष सावधानी अपनाउने तथा साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म मसोट खोला पुलमा दुई पाङग्रे बाहेकका अन्य सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो ।
साउन २१ देखि २४ गते बिहानसम्म सबै सवारी साधान घोराही बाट तुलसीपुर हुँदै अमेलिया पुगेर पूर्व पश्चिम राजमार्ग पुग्नु पर्ने भएको छ ।
सडकका प्रमुख बिष्टले जिल्ला बाहिर जाने सबै यात्रु र सवारी चालकलाई त्यो अबधिभर वैकल्पिक मार्गको तुलसीपुर – अमेलिया हुँदै यात्रा गर्न आग्रह गरेका छन् ।
त्यस्तै पूर्व बाट आउने सबै गाडीहरुलाई लमहीबाट सोझै घोराही नभइ अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न स्थानीय प्रशासनले पनि सबैमा आग्रह गरेको छ ।
मर्मत अवधिमा अत्यावश्यक सवारी साधनका लागि डाइभर्सन निर्माण गरि सञ्चालन गरिने भएको छ ।


