
दाङ,असार २१ । प्रहरी पुगेपछि भाग्ने प्रयास गर्दा लडेर एकजना जुवाडे घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जसपुर निवासी धनबहादुर केसी प्रहरी पुगेपछि भाग्ने क्रममा लडेर घाइते भएका छन् । उनको दाहिने घुँडामा चोट रहेको प्रहरी स्रोतले बताएको छ । केसीको हाल तुलसीपुरस्थित सिटी हस्पिटलमा उपचार भइरहेको छ । उनको घुँडा फ्याक्चर भएको हो कि हैन भन्ने एकिनका साथ भन्न चिकित्सको रिपोर्टको प्रतिक्षा गर्नुपर्ने एकजना प्रहरी अधिकारीले बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ तुहीखोलामा भइरहेको जुवामा प्रहरी पुगेपछि केसी भाग्न खोजेको र त्यही क्रममा उनी लडेर घाइते भएको प्रहरीले बताएको छ । उनको घुँडा सुन्निएको हुँदा उपचारको लागि पठाइएको एक प्रहरी अधिकारीले बताए । शुक्रवार बेलुका साढे ८ बजेतिर एउटा घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ जना जुवाडे पक्राउ गरिएको जानकारी दिएको छ ।
उनीहरुको साथवाट १ लाख ६२ हजार रकम र खेलमा प्रयोग हुने कौडा समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका अन्य जुवाडेको नाम भने प्रहरीले सार्वजनिक गरिसकेको छैन । कस्को घरवाट ती जुवाडेलाई पक्राउ गरिएको हो ? त्यो पनि प्रहरीले खुलाएको छैन । पक्राउ परेका सबैलाई ईप्रका तुलसीपुरमा राखिएको छ । उनीहरु माथि जुवा ऐन शिर्षकमा मुद्दा चलाएर कानुनी उपचार खोज्ने प्रहरीले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस