२०८३ मङ्सिर ६ गते शनिवार

‘द्धन्दको नाममा जघन्ने अपराधमा संलग्न ब्यक्तिहरु कसैलेपनि उन्मृक्ति पाउनु हुन्न ’


विस्तृत शान्ति सम्झौताको २० बर्ष पुरा


तुलसीपुर, मंसिर ५ ।

द्धन्दकालका गम्भीर मानवअधिकार उलंघनका घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरामा ल्याउनु पर्ने शनिबार तुलसीपुरमा आयोजित कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

शान्ति सम्झौता भएको दुई दशक पूरा भएको अवसरमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने बारे भइ रहेको आनकानी प्रति उनीहरुले असन्तुष्टि ब्यक्त गरे ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा नागरिक समाज दाङका पूर्व संयोजक टीकाराम रेग्मीले बिगतको द्धन्दलाई बृस्तृत शान्ति प्रक्रिया मार्फत टुँगोमा पुर्‍याउनु एक महत्वपूर्ण घटनाक्रम भएपनि त्यसभित्रका गम्भीर तथा जघन्ने अपराधका घटनामा संलग्नहरु माथि कारबाही हुनुपर्ने बताए ।
सत्य निरुपन तथा मेलमिलाप आयोगको प्रतिबेदन अनुसार दोषी ठहरिएका राज्य वा माओबादी जो भएपनि कारबाही हुनुपर्ने उनले जोड दिए । प्रतिबेदनले औंल्याएका ब्यक्तिहरु माथि कारबाही नहुँदा पछिल्लो समय जेनजी आन्दोलनका नाममा २०८२ भदौ २३ र २४ गते हिंसात्मक तथा ध्वँसात्मक आन्दोलन भएको उनले बताए । स्वतन्त्र प्रेस सेनानी समेत रहेका उनले पछिल्लो समय राज्यका तर्फबाट पत्रकार माथि भइ रहेको धरपकडको बिरोध गरे ।


कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति तथा अधिबक्ता मोहनप्रसाद धितालले सरकारले सत्यनिरुपन आयोगको प्रतिबेदन कार्यान्वयनमा चासो नदिदा तथा दोषीलाई उन्मुक्ति मिलिरहँदा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न नसकेको बताए । पीडक अहिले पनि छाति फुर्‍याए निधक्क हिडिरहेको, पीडित अहिले पनि भए त्रासमै बाँच्नु परेको हुँदा उनीहरुले न्यायको अनुभूत गर्न नपाएको धितालले बताए ।
समाजका पूर्व सभापति नवीनकुमार पोख्रेलले पनि दोषीमाथि कारबाही नहुँदा राज्यमा मनोमानी तोडफोड, आगजनी तथा ब्यक्ति हत्याका घटनाका सृङखला नरोकिएको बताए ।
‘ द्धन्दकालका हुन कि पछिल्लो जेन्जी कालका हुन छानविन गरि जघन्ने अपराधमा संलग्न जो कोही भएपनि कारबाही हुनुपर्छ,’ उनले भने ‘ हैन भने मुलुकमा यस्तै त्रास र मनपरी कायमै रहने खतरा छ ।’
त्यसक्रममा मानव अधिकारकर्मी सुष्मा गिरीले द्धन्दका क्रममा महिला माथि यौन अत्याचारका घटनापनि भएको हुँदा त्यस्ता दोषीहरुलाई कारबाही नहुँदासम्म पीडितले न्याय अनुभूत गर्न नसक्ने बताइन ।


कार्यक्रममा समाजका सल्लाहकार कोमल डिसी, पत्रकार शरद रेग्मी, द्वन्द पीडितको तर्फबाट नवीन योगी लगाएतले शान्ति सम्झौताको मर्म अनुसार द्वन्द्व पीडितले न्याय पाउनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा अधिकारकर्मी निर्मल नेपालीले ‘विस्तृत शान्ति सम्झौताको दुई दशक– सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह’ विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति अमृतप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रम शाखा उपसभापति माधब बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको थियो भने सहजीकरण समाजका सचिव मधुसुदन गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०८३ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *