तुलसीपुर, बैशाख ७ । दंगीशरणमा आइतबार एकै दिन दुई वटा अटोहरु दुर्घटनामा परेका छन् । दुर्घटनामा परि सात जना घाइते भएका छन् ।
रगैंचाबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५७५३ नम्बरको अटो दंगिशरण गाउँपालिका – ५ लौबस्तामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
तीब्र गतिको अटो अनियन्त्रित भइ दिउँसो सवा एक बजेतिर प्रतिक्षालयमा ठोक्किएर पल्टिएको थियो । त्यो दुर्घटनामा परि दंगिशरण – ७ की ४९ बर्षीया राधिका बुढाथोकी, उनका ६ बर्षीय नाति आयुश बुढाथोकी, १० बर्षीया नातिनी कुशुम बुढाथोकी र शान्तिनगर गाउँपालिका – ६ का ४२ बर्षीय बिरेद्र न्यौंपानले घाइते भएका छन् ।
घाइते मध्य राधिका र उनका नाति आयुशको अवस्था मध्यम छ भने कुशुम र बिरेन्द्रको अवस्था सामान्ने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
त्यस्तै आइतबार दिउँसो नै सवा २ बजेतिर तुलसीपुरबाट पोटली तर्फ जाँदै गरेको लु.प्र. ०२– ००१ ह ००२० नम्बरको अटो अनियन्त्रित भइ दंगिशरण – ५ पोटलीमा पल्टिएको थियो ।
त्यो दुर्घटनामा परि अटोका चालक दंगिशरण – ३ रावत गाँउका ४० बर्षीय हुमबहादुर चौधरी, सोही ठाउँका ३५ बर्षीय प्रकाश डाँगी र उनकी श्रीमति ३५ बर्षीया कोपिला डाँगी घाइते भएका छन् ।
उनीहरु सबैलाई हात खुट्टामा चोट पटक लागेको भएपनि अवस्था सामान्ने रहेको प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
घाइते सबैको तुलसीपुरमा उपचार भइ रहेको छ ।
