२०८२ कार्तिक २५ गते मङ्गलवार

सल्यानमा आगलागी हुँदा दुई घरगोठ जलेर नष्ट, लाखौको क्षति


सल्यान,चैत ७ । सल्यानको कालिमाटी गाउँपालिका–२, खैरिकाँडामा गएराति आगलागी हुँदा दुई घरगोठ पूर्ण रूपमा नष्ट भएका छन् ।

आगलागीका कारण स्थानीय केशलाल वली र प्रेमबहादुर विकको घर तथा उनीहरूको पशुचौपाया र मौरीघार समेत जलेर नष्ट भएको छ ।

वडा अध्यक्ष इन्द्र बहादुर वलीका अनुसार राति करिब १ बजे सुरु भएको आगोले केशलाल वलीको १ गोरु, १० बाख्रा, ६ कुखुरा र २ मौरीघार नष्ट गरेको छ । उता, प्रेमबहादुर विकको १७ हजार नगद, ७ कुखुरा, १ हाँस, ३ मौरीघार र नयाँ घर बनाउन संकलन गरिएका काठपात समेत जलेका छन् ।

लत्ताकपडा, अन्नपात, भाँडाकुँडा सबै खरानी भएको छ । प्रारम्भिक अनुमानअनुसार क्षतिको कुल मूल्य करिब १० लाख रुपैयाँ रहेको छ ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको भए पनि क्षति ठूलो भएको छ ।

आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन र प्रहरी अनुसन्धान गरिरहेको छ ।

आगोले घरवार गुमाएका पीडितहरूको राहतका लागि कालिमाटी गाउँपालिकाले पहल थालेको छ । खाद्यान्न, लत्ताकपडा जस्ता आवश्यक सामग्रीको व्यवस्था मिलाउने प्रयास भइरहेको वडा अध्यक्ष वलीले जनाए ।

नेपाल रेडक्रस सोसाइटीले पनि राहत सामग्री पठाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *