दाङ, फागुन २२ । बर्दियाको ठाकुरबाबा नगरपालिका – १ की ५१ वर्षीया राधा बोहराको हत्या आरोपमा प्रहरीले उनका भिनाजु र भिनाजुकी बुहारीलाई पक्राउ पछि सार्वजनिक गरेको छ ।
राधाको हत्या आरोपमा उनका भिनाजु ६९ बर्षीय शान्तबहादुर खत्री र शान्तबहादुरकी बुहारी २४ बर्षीया उमाकुमारी खत्री पक्राउ परेका हुन ।
दिदी भिनाजुको घर नजिकै भाडामा एक्लै बस्दै आएकी राधा फागुन ४ गते बिहान घर भित्र खाँबोमा बाँधेको अवस्थामा मृत फेला परेकी थिइन । हत्यापछि हत्यारा बाहिरबाट ताल्चा लगाएर फरार भएका थिए । उनको घाँटी कसेर हत्या पछि खाँबोमा बाँधेर हत्यारा फरार भएका थिए ।
जिल्ला अदालत बर्दियाबाट फागुन १५ गते शान्तबहादुर र उनकी बुहारी उमाका बिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । घटना अनुसन्धान पछि प्रहरीले सोही दिन ससुरा बुहारीलाई पक्राउ गरेको थियो ।
बर्दिया जिल्ला प्रहरी प्रबक्ता ऋषिराम घर्ती मगरले राधाको हत्या आपसी रिसिवी र लेनदेनका कारण भएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए ।
राधाले भिनाजु शान्तबहादुलाई केही बर्ष पहिले सापटी स्वरुप पैंशा दिएको र त्यही पैंशाका कारण योजना बद्ध ढंगले उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
राधाकी एक्ली छोरी अमेरिकामा छिन् । राधा जीवन यापनका लागि भाडामा बस्ने कटेरोमा रक्सी पार्ने र बेच्ने काम गर्दै आएकी थिइन ।