
तिर्थराज ज्ञवाली,
दाङ, असार ११ । चट्याङवाट मृत्यु भएको बालबालिका अभिभावकलाई राहात प्रदान गरेको छ । राप्ती गाउँपालिकाको वडा र जिल्ला प्रशासन कार्यालय दाङले पीडित परिवारलाई राहात प्रदान गरेका हुन ।
राप्ती गाउँपालिकाले एकजना मृतकलाई १५ हजारका दरले ४५ हजार र जिल्ला प्रशासन कार्यालय दाङले १ लाखका दरले ३ लाख राहत प्रदान गरेको छ । राहत उपलब्ध गराउदै गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सहयोगको रकमले बच्चाहरुका लागि सम्झना योग्य कुनै काम गर्न आग्रह गरे ।
त्यसक्रममा गाउँपालिकाले चट्याङ लागेर घाईते अर्का एक बालक अबिनाश चौधरीको उपचारमा सहयोग पुगोस भनेर नगद १० हजार सहयोग प्रदान गरेको छ ।
मंगलवार घर नजिकै जामुन खान भनि रुखमा चढेका बालबालिकालाई चट्याङले हानेको थियो । चट्याङ लागेर १२ बर्षीय साजन चौधरी, १३ बर्षीय बिवेक चौधरी र १० बर्षीय रमित चौधरीको घटनास्थल मै मृत्यु भएको थियो भने ८ बर्षीय अबिनाष चौधरी घाइते भएका थिए ।
राहत वितरण गर्न गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत जनकप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, लेखापाल खुमानसिंह खड्का लगायत पुगेका थिए ।
