
दाङ, भदौ १ ।
जाजरकोटमा कुटपिटबाट घाइते एक जना औषधि ब्यबसायीको मृत्यु पछि पाँच जना युवा पक्राउ परेका छन् ।
युवाहरुको एक समुहले साउन २५ गते दैलेख जिल्लाको नारायण नगरपालिका – २ स्थायी घर भइ जाजरकोटको भेरी नगरपालिका – ११ जगतिपुरमा औषधि पसल गर्दै आएका ३२ बर्षीय दीपककुमार थापामाथि कुटपिट गरेको थियो ।
घाइते थापाको सुरुमा रुकुमपश्चिमस्थित ‘मिसन अस्पताल चौरजहारी’मा उपचार भएको थियो । त्यहाँबाट थप उपचारका लागि बाँकेको नेपालगंजस्थित ‘केयर सिटी हस्पिटल’मा पुर्याइएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उनको साउन २८ गते बिहान सवा १ बजेतिर मृत्यु भएको थियो ।
प्रहरीले साउन २९ गते थापा माथि कुटपिट गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रबक्ता प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार आरोपीहरु भेरी –८ का ३३ बर्षीय बीरेन्द्र खत्री, भेरी – ९ का २९ बर्षीय निरज रोकाया, सोही वडाका २१ बर्षीय शिशिर योगी गोसाइ, २४ बर्षीय लक्ष्मण रोकाया र २८ बर्षीय बिनोद गोसाइलाई पक्राउ गरि घटना बारे अनुसन्धान भइ रहेको छ ।
पक्राउ परेका पाँचै जना बिरुद्ध कतब्र्य ज्यान शिर्षकमा अनुसन्धान गर्न जिल्ला अदालत जाजरकोटले १० दिनको म्याद दिएको प्रहरी निरीक्षक खड्काले बताए ।
