दाङ, माघ ९ । सडक मानवहरुकोलागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा यही माघ १७ गतेदेखी घोराहीमा हुने महायज्ञका विषयमा सरोकावालाहरुसँगको छलफललाई तीव्र बनाईएको छ ।
सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा माघ १७ गतेदेखी २४ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रको प्रांगणमा हुने ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ को सम्बन्धमा स्थानीय तह लगायत सामाजिक संघसंस्था, सहकारी, टोल विकास संस्था, आमा समूह, विद्यालयहरुसँगको छलफललाई तीव्र रुपमा अगाडी बढाईएको हो । यसै क्रममा घोराही उपमहानगरपालिकाको कार्यपालिका सदस्यहरुसँग महायज्ञको विषयमा छलफल गरिएको छ ।
कार्यपालिका सदस्यहरुको छलफलमा सहभागी जनप्रतिनिधीहरुले महायज्ञ सफल बनाउनकालागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सडक मानव मुक्त अभियानलाई सफल बनाउनकालागि घोराही उपमहानगरपालिकाले सुरुवाति चरणबाटै सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि निरन्तर साथ सहयोग रहने बताए ।
मानव कल्याण समाजले घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेको सेवा घरमा रहेका नागरिकहरुलाई कुनै समस्या आउन नदिने गरि घोराही उपमहानगरपालिका अगाडी बढ्ने उनको भनाई थियो ।
मानव कल्याण समाजको परिचय, दाङ शाखाबाट सञ्चालित सेवा घरको वर्तमान अवश्था र महायज्ञको बारेमा मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमी मानवले जानकारी दिएका थिए ।
महायज्ञ आयोजक मुल समितिको अगुवाईमा घोराही उपमहानगरपालिकाको वडा जनप्रतिनिधीहरुसँग समन्वय गरि हरेक वडाहरुमा रहेका टोल विकास संस्था, सामाजिक संघसंस्था, राजनितिक दल, विद्यालय, गैरसरकारी संस्था, युवा तथा महिला समूहहरुसँग महायज्ञबारे छलफल गरिएको छ ।
महायज्ञको सम्बन्धमा दाङ जिल्ला उद्योग वाणिज्य संघसँग पनि छलफल गरिएको छ । अध्यक्ष बसन्त जोशी लगायतको कार्यसमिति, पूर्वअध्यक्ष सहितको व्यवसायिक टोलीसँग भेटघाट गरिएको हो ।
यस्तै पतञ्जली योग समिति लगायत विभिन्न सहकारी, संघसंस्थाहरुसँग पनि महायज्ञको विषयमा छलफल गरिएको छ ।