
फाइल फोटो
दाङ,जेठ ३२ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले आफुमाथि लागेको आरोपको खण्डन गरेका छन । वडा नम्बर १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेले आफ्नो वडामा परेको गौरवको योजनामा टेन्डर नै नखोलेको आरोप बारे उनले खण्डन गरेका हुन । उपमहानगरपालिकाले उपभोक्ता समिति गठनका लागि पटक पटक ताकेता गर्दा पनि वास्ता नगरेर सम्झौता मिति सकेपछि वडा बासीका विचमा भ्रम छर्न न्यौपानेले त्यसो गरेको उनको आरोप छ ।
समयमै सम्झौंता गरिसक्नुपर्ने भएपनि त्यसो नगरी आफ्नो गल्ति ढाकछोप गर्न कपोलकल्पित आरोप लगाइएको नगर प्रमुख पाण्डेले बताएका छन । ‘जुन वडाको विकास गरेपनि नगरकै विकास हुने हो । यसमा मैले कुनै राजनीतिक रुपमा हेर्नुपर्ने कुरै छैन।’ पान्डेले भने ।
असारे विकास रोक्न जेठ १५ सम्म मात्रै योजना सम्झौता गर्ने उपमहानगरपालिकाको नीति अनुसार बैठकमा ताकेता गर्दा वडा अध्यक्षले कुनै मतलव नगरेको उनको भनाई छ । सम्झांैताको समय गुज्रिदासम्म वडाले यसमा कुनै चासो नदिएको मेयरले बताए ।
वडाले समयमै प्रक्रिया अगाडि नबढाएपनि अर्को बर्ष काम गर्ने गरि उपभोक्ता समिति गठनका लागि प्रक्रिया अगाडि बढाउने सहमति वडा अध्यक्षसंग भइसकेको अवस्था एकाएक पत्रकार सम्मेलन गरेर आरोप लगाउनु राजनीतिक प्रतिशोध भएको प्रमुख पान्डेको आरोप छ । असारे विकासका नाममा भ्रष्टाचार मौलाएको र विकास पनि प्रभावकारी नहुने उनको भनाइ छ ।
शनिवार नै पत्रकार सम्मेलन गरि राप्ती राजमार्गदेखि पनालीबोटसम्म सडक कालोपत्रे तथा स्तरोन्नतिको लागि ३५ लाख बजेट छुट्याइएको भएपनि त्यसका लागि टेन्डर खोल्न मेयरले कुनै चासो नदिएको दोषारोपन गरेका थिए ।
यो पनि पढ्नुहोस
नगर प्रमुखलाई वडा अध्यक्षको आरोप