
दाङ, जेठ ३२ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौपानेले नगर प्रमुख घनश्याम पाण्डेले आफ्नो वडामा परेको गौरवको योजनामा टेन्डर नै नखोलेको आरोप लगाएका छन् । शनिवार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०७५÷०७६ को वडाले पाउनु पर्ने नगर सभावाट पारित ३५ लाख बजेट नपाएको गुनासो गरेका हुन् ।
सात लाख बढीको विकासे काम गर्दा उपमहानगरपालिकाले नै टेन्डर आह्वान गर्नुपर्ने भएपनि गौरवको योजनामा राखेको राप्ती राजमार्गदेखि पनालीबोटसम्म सडक कालोपत्रे तथा स्तरोन्तिको लागि छुट्याइएको बजेटमध्ये ३५ लाख नदिएको वडा अध्यक्ष न्यौपानेले बताए ।
पटक÷पटक कार्यपालिका बैठकमा कुरा उठाउँदासमेत सुनुवाई नभएपछि आफू बाध्य भएर मिडिया समक्ष आएको पत्रकार सम्मेलनमा न्यौपानेले बताए । ‘मेरो वडाको गौरवको योजना नै गायव पारिएको छ । नगरकै विकट १३ नं. वडालाई झनै पछाडि धकेल्ने षड्न्त्र भएको छ’ न्यौपानेले भने ‘अविलम्व सडक स्तरोन्तिको लागि टेन्डर आह्वान हुनुपर्छ ।
मलाई र जनतालाई झुक्याउने खेल बन्द हुनुपर्छ ।’ राप्ती राजमार्गदेखि पनाली बोट सडक खण्डको स्तरोन्ति हुने आशामा बसेका जनता आर्थिक बर्ष सकिनै लाग्दासमेत तुलसीपुरका नगर प्रमुखले टेन्डर आह्वान नगर्दा निराश भएको वडा अध्यक्ष न्यौपानले बताए । उनले नगरप्रमुखको झुक्याउने तथा गौरवको योजना नै गायव पार्ने कार्यले जनता निराश र आक्रोसित बनेको जानकारी दिए ।
सडकको स्तरोन्तिको काम यही असार मसान्तसम्म सक्ने गरी अविलम्व टेन्डर आह्वान गर्न नगर प्रमुख पाण्डेलाई आग्रह गरेका न्यौपानेले अन्यथा त्यसबाट उत्पन्न हुने परिणामको सम्पूर्ण जिम्मेवारी नगरप्रमुख पाण्डेले लिनुपर्ने दाबी गरे । पत्रकार सम्मेलन नेपाल प्रेस यूनियन दाङका उपाध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, यूनियनका पूर्व जिल्ला अध्यक्ष सुशील बस्नेतको उपस्थितिमा भएको पत्रकार सम्मेलनको सहजीकरण यूनियनका जिल्ला कोषाध्यक्ष प्रकाश डाँगीले गरेका थिए । न्यौपाने नेपाली काँग्रेसवाट निवार्चित वडा अध्यक्ष हुन् ।
