तुलसीपुर, भदौ १३ । अटो दुर्घटनाका घाइते एक जना जेष्ठ नागरिकको उपचारका क्रममा मृत्यु भएको छ ।
अटो दुर्घटनाका घाइते दंगीशरण गाउँपालिका – २ का ८५ बर्षीय जिवराज बस्नेतको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको छ ।
बस्नेत सवार सितलपुर तर्फबाट बाजर तर्फ आउँदै गरेको रा १ ह ४५१३ नम्बरको अटो बुधबार बिहान साढे ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका – १२ टरिगैं नजिक अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।
घाइते बस्नेतलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङहोममा रिफर गरिएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले घाइते बस्नेतको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन् । अटो चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार