काठमाडौं,बैशाख १० । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेस प्रदेशको तराई भूभागका केही स्थानका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
आज राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।