तुलसीपुर, फागुन ४ । ‘प्रेममा धोका’ दिएको आशंकामा डिउटीमा रहेकी प्रहरी जवान श्रीमतिलाई एक जना संकाहा प्रहरीले बिहीबार बेलुकी दाङ घोराहीको चोकमै गोली हानेर हत्या गरेका छन् ।
सुर्खेतको पञ्चापुरी नगरपालिका – ९ बिद्यापुर घर भइ हाल वडा प्रहरी कार्यालय घोराही दाङमा दरवन्दी भइ सोही ठाउँमा कार्यरत २६ बर्षीया प्रहरी जवान धनमाया थापा मगरमाथि घोराही उपमहानगरपालिका – १४ दामोदर चोकमा बिहीबार बेलुकी सवा ८ बजेतिर उनकै प्रहरी श्रीमानले तीन गोली प्रहार गरी हत्या गरेका थिए ।
श्रीमति धनमायालाई उनका श्रीमान प्यूठानको नौंबहिनी गाउँपालिका – ४ खबाङ घर भइ नेपाल प्रहरी आवासिय माध्यामिक विद्यालय घोराही दाङमा दरवन्दी भइ कर्णाली प्रदेश तालिम केन्द्र सुर्खेत हाल नेपालगंज बाँकेमा कार्यरत ३५ बर्षीय प्रहरी सहायक हवल्दार यामबहादुर झाँर्कीले पेस्तोलबाट तीन गोली प्रहार गरेका थिए ।
धनमाया दामोदर चोकमा बेलुकी ६ बजेदेखि सोही चोकमा डिउटीमा थिइन । बिहीबार राति १० बजेसम्म सोही चोकमै उनलाई डिउटी खटाइएको थियो । साथमा अर्का प्रहरी जवानपनि डिउटीमा थिए ।
डिउटीकी श्रीमति प्रहरी जवान धनमायालाई चोकमै पेस्तोलवाट तीन गोली प्रहार पछि यामबहादुर आँफैले चलाएको भे १२ प १५५० नम्बरको मोटरसाइकलबाटै भागेका थिए ।
श्रीमतिलाई चोकमै गोली हानेर फरार यामबादुर २३ किलोमिटर टाढा जिल्लाकै लमही नगरपालिका – ६ स्थित अर्जुन खोलाबाट वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो । यामबहादुरको साथबाट ९ एमएकको पेस्तोल लोडेड अवस्थाको सात राउन्ड गोलीसहित बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएएपी जनकबहादुर मल्लले जानकारी दिए ।
जिल्ला प्रहरी प्रबक्ता मल्लका अनुसार यामबहादुर तालिम केन्द्र सुर्खेत हाल नेपालगंज बाँकेका एसएसपीका बडिगार्ड हुन । यामबहादुरले फागुन २ गतेदेखि लागु हुने गरि चार दिनको बिदा मागेको खुलेको मल्लले बताए । यामबहादुर बुधबार नै दाङ आएको प्रहरी बताउँछ ।
बिदा बस्दा आँफुले बोक्ने हतियार बुझाउनु पर्ने हुन्छ । तर, यामबहादुर आँफुले बोक्ने हतियार लिएर आएको खुलेको छ । अर्कौ तर्फ दामोदर चोकमा डिउटीमा खटाइएका प्रहरी संग लाठी मात्रै थियो । प्रहरी स्रोतका अनुसार सानो टुकुडीमा दुई तीन जना मात्रै खटाउँदा खतरा हुने महसुश गरि हतियार लैजान प्रतिबन्ध नै लगाइएको हुन्छ ।
धनमाया संगपनि बन्दुक हुँदो हो त श्रीमानले गोली हान्न खोज्दा उनले पनि जबाफी फायरिङ गर्न सक्थिन । प्रहरी अधिकारीका अनुसार यामबहादुरले केहीबेर धनमाया संग कुरापनि गरेका थिए ।
प्रहरी अधिकारीका अनुसार श्रीमान– श्रीमति बिचमा बिगत केही समय यता सम्बन्ध सुमधुर थिएन । माघ महिनामा मात्रै धनमायाले जिल्ला अदालत दाङमा अंशसहित सम्बन्ध बिच्छेदका लागि निबेदन दिएकी थिइन । बिदा मागेर बुधबार नै घोराही आएका यामबहादुर श्रीमति संग नबसी छुट्टै बसेका थिए ।
प्रेममा धोका दिएको आशंकामा संकाहा प्रहरी सहायक हवल्दार झाँर्कीले श्रीमतिमाथि चोकमै गोली हानेर हत्या गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।