काठमाडौं, मंसिर २० । अवैधरूपमा नेपालीलाई रुसी सेनामा पठाउने दाङका एक जना १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। बुधबार काठमाडौं प्रहरी परिसरले उनीहरुलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा दाङका ३८ वर्षीय द्रोण डाँगीपनि रहेका छन् । त्यस्तै काठमाडौं जोरपाटीका २७ वर्षीय सन्तोष रोका, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानिलकण्ठका ३१ वर्षीय क्षितिज गिरी, उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, र सिरहाका १९ वर्षीय दिपेन परियार, लमजुङका ३५ वर्षीय ईश्वर अधिकारी , चितवनका २५ वर्षीय गोकर्ण अर्याल, बाराका २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाका २५ वर्षीया सुजाता दाहाल र काभ्रेका २९ वर्षीय सुबास लामा रहेका छन् ।
पक्राउ परेकाहरु मध्य सुजाता दाहाल, गोकर्ण अर्याल र हरिबहादुर विश्वकर्मा प्रमुख एजेण्ट रहेको प्रहरी अधिकारीले जानकारी दिए । हरि पूर्व सुरक्षाकर्मी हुन । उनी एक्लैले हालसम्म १८ जनालाई रुस पठाइ सकेको र थप ११ जना रुस जाने क्रममा रहेको प्रहरीले जानकारी दिएको छ । उनले एक जना बाट सातदेखि १२ लाख रुपैंयासम्म असुलेको खुलेको छ ।
सुजाताको कार्यालयबाट १४ लाख १८ हजार ५ सय नगद र २७ थान पासपोर्ट बरामद गरिएको छ भने ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद, १६ थान पासपोर्ट, एक थान ल्यापटप, एक थान प्रिन्टर र ७ थान मोबाइल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
अधिकांश नेपाली युवालाई पहिले भिजिट भिसामा युएई र त्यहाँबाट रुस पठाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भारत हुँदै रुस जानेहरू केही रहेको प्रहरीले जानकारी दिएको छ ।
रुस र युक्रेन बीचको युद्धका कारण ६ जना नेपालीको हालसालै मृत्युको खबर आएपछि कसरी नेपाली रुसी सेनामा भर्ती भए भनेर नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।